धनुषाको विदेह नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मेयर पदका आकांक्षी सञ्जीव कुमार झाले कार्तिक ३ गते छठ महापर्वअघि बृहत् सरसफाइ महाअभियान घोषणा गर्दै परम्परागत दलका नेताहरूलाई चुनौती दिएका छन्। पुराना राजनीतिक दलका नेताहरू चुनावी जोडघटाउमा व्यस्त रहँदा झा भने जनतासँगै ग्राउन्डमा ओर्लिएर काममा जुटेका हुन्।
रास्वपा विदेह नगरपालिका वडा नं. ३ का सभापति समेत रहेका झाले कार्तिक ३ गते एक प्रेस विज्ञप्ति जारी गर्दै कार्तिक ६ गते शुक्रबारदेखि सरसफाइ अभियान सुरु हुने जानकारी दिएका छन्। यस अभियानअन्तर्गत विदेहका घाट, पोखरी र टोलहरूको सरसफाइ गरिनेछ।
झाको चुनौती: राजनीति काममा देखिनुपर्छ
झाले परम्परागत नेताहरूलाई कडा चुनौती दिँदै राजनीति भाषणमा नभई काममा देखिनुपर्नेमा जोड दिएका छन्। उनले भने, ‘छठ मिथिलाको आस्था र पहिचान हो। सफा घाट र सफा पोखरी हाम्रो साझा जिम्मेवारी हो। कसैले गरिदेला भनेर पर्खनुभन्दा पहिलो कदम हामी आफैं चालौं। राजनीति भाषणमा होइन, जनतासँगै काममा देखिनुपर्छ।’
विगत तीन दशकभन्दा बढी समयदेखि सञ्जीव कुमार झा विदेहका ग्रामीण सडक निर्माण, डुबान क्षेत्रको निकास, आकस्मिक स्वास्थ्य सहयोग र विपद्मा राहत जुटाउने कार्यमा निरन्तर सक्रिय रहँदै आएका छन्। चुनावको बेला मात्र गाउँ छिर्ने ‘हेलिकोप्टर नेता’ हरूका लागि झाको यो ग्रासरुट एक्सन गतिलो झापड बनेको स्थानीय स्रोत बताउँछ। यस अभियानमार्फत उनले आफूलाई फेरि एकपटक ‘जनताको सेवक’ का रूपमा उभ्याएका छन्।
अभियानको तालिका र जनसहभागिताको आह्वान
यो सरसफाइ अभियान कार्तिक ६ गते शुक्रबार बिहान ९ बजेदेखि विदेह नगरपालिका वडा नं. ३, धनुषामा सुरु हुनेछ। अभियानमा सञ्जीव कुमार झा स्वयंको प्रत्यक्ष उपस्थिति र नेतृत्व रहनेछ।
झाले सम्पूर्ण विदेहवासीलाई घाट तथा पोखरी किनारमा प्लास्टिक र फोहोर नफाल्न तथा पूजापछिको सामग्री तोकिएको स्थानमा मात्र विसर्जन गर्न विशेष अनुरोध गरेका छन्। उनले नगरका युवा, महिला, विद्यार्थी, क्लब तथा सम्पूर्ण सामाजिक संस्थाहरूलाई यस पवित्र सरसफाइ अभियानमा स्वयंसेवकका रूपमा हातेमालो गर्न सार्वजनिक आह्वान समेत गरेका छन्।
‘परिवर्तन सम्भव छ — अब विदेहमा परिवर्तनको घण्टी बज्नेछ!’ भन्ने रास्वपाको मूल मन्त्रलाई सञ्जीव झाले गफमा नभई व्यवहारमै उतार्न थालेको स्थानीयको भनाइ छ। फोस्रा आश्वासन मात्र बाँड्ने पुराना दलका सिन्डिकेटलाई भत्काउन विदेहमा सुरु भएको यो नयाँ लहरले आगामी स्थानीय चुनावमा नयाँ समीकरण निर्माण गर्ने सम्भावना छ।
