नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन एक दिन मात्र बाँकी रहँदा पाकिस्तानी खेलाडीहरूको सहभागितामा गम्भीर अन्योल उत्पन्न भएको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एनपीएल खेल्न आउने आफ्ना खेलाडीलाई आवश्यक नो अब्जेक्सन लेटर (एनओसी) दिन ढिलाइ गरेपछि यो समस्या चुलिएको हो।
ईएसपीएन क्रिकइन्फोका अनुसार, पीसीबीले प्रतिखेलाडी २५ हजार अमेरिकी डलर मागेको दाबी गरिएको छ। नेपाल आइसकेका पाकिस्तानी खेलाडीको एनओसीसमेत रोकिएको र शुल्क नतिरे प्रमाणपत्र फिर्ता लिने चेतावनी दिइएकोसमेत जनाइएको छ।
एनओसी रोकिँदा खेलाडीको भविष्य अन्योलमा
क्रिकेटसम्बन्धी चर्चित मिडिया क्रिकइन्फोले एनपीएलसँग सम्बन्धित विभिन्न व्यक्तिहरूले पाकिस्तानी खेलाडीको एनओसी रोकिएको पुष्टि गरेको उल्लेख गरेको छ। यसअघि एनओसी पाइसकेका खेलाडीलाई समेत प्रतियोगितामा खेल्ने अनुमति तत्कालका लागि रोकिएको जानकारी दिइएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आफूहरूले त्यस्तै सुनेको बताएका छन्। उनले एनओसीका लागि क्यानले केही गर्न नसक्ने र यो सम्बन्धित बोर्डको निर्णय भएको स्पष्ट पारे। खड्काले आइतबार त्रिवि मैदानमा एनओसीबिना खेलाडीले एनपीएल खेल्न नपाउने पनि बताए।
एनपीएलसँग सम्बन्धित केही व्यक्तिका अनुसार पीसीबीले प्रत्येक पाकिस्तानी खेलाडीको एनओसीका लागि करिब २५ हजार अमेरिकी डलर शुल्क मागेको हुन सक्ने बताइएको छ। यद्यपि, पीसीबीले यस्तो माग लिखित रूपमा गरेको हो वा होइन भन्ने पुष्टि भएको छैन। एनओसी रोक्नुको मुख्य कारण यही शुल्क हो वा अन्य कुनै विषय हो भन्ने पनि स्पष्ट भइसकेको छैन।
पीसीबीको नयाँ नीति र खेलाडीमाथि असर
एनपीएलमा सहभागी हुने पाकिस्तानी खेलाडीको सूचीमा पाकिस्तानका टी-२० कप्तान साहिबजादा फरहानसहित हैदर अली, हुनेन शाह, हुसेन तलात, इफ्तिखार अहमद, हसन अली र उसामा मिर छन्। यीमध्ये कुनै पनि खेलाडी एनपीएल सञ्चालन हुने मितिसँग जुध्ने पाकिस्तानको राष्ट्रिय टोलीको कार्यक्रममा समावेश छैनन्।
यसै वर्ष पीसीबीले केन्द्रीय सम्झौताको नयाँ संरचना सार्वजनिक गरेको थियो। उक्त संरचनामा एकदिवसीय, टी-२० र टेस्ट क्रिकेटका खेलाडीलाई छुट्टाछुट्टै वर्गमा राखिएको थियो। यसमा ‘फर्म्याट ट्र्याक डी’ नामको श्रेणी पनि समावेश थियो, जसअन्तर्गतका खेलाडीलाई टी-२० विशेषज्ञ मानिने व्यवस्था थियो। सैद्धान्तिक रूपमा यस श्रेणीका खेलाडीले पीसीबीले तोकेको अन्तर्राष्ट्रिय जिम्मेवारीसँग नजुध्ने गरी आफूले चाहेका विभिन्न टी-२० लिग खेल्न पाउने अपेक्षा गरिएको थियो।
तर, पीसीबीले अहिलेसम्म कुन खेलाडी कुन श्रेणीमा पर्छन् भन्ने सार्वजनिक गरेको छैन। नयाँ सम्झौता संरचना पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको छ वा छैन भन्ने पनि स्पष्ट छैन। पीसीबीले विदेशी लिगहरूमा खेल्ने आफ्ना खेलाडीहरूका लागि २५,००० अमेरिकी डलरको एनओसी शुल्क तोकेको छ, जसले गर्दा मेजर लिग क्रिकेट (एमएलसी) मा पाकिस्तानी खेलाडीहरूको सहभागिता घटेको थियो।
एनपीएलको भविष्य र खेलाडीको प्रतीक्षा
यस वर्षको एनपीएल अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म काठमाडौंमा सञ्चालन हुँदैछ। आठ टोली सहभागी हुने प्रतियोगिताका सबै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुनेछन्।
एनपीएल खेल्न आउने केही पाकिस्तानी खेलाडी काठमाडौं आइसकेका छन्। त्यस्तै, नेपाल आउन तयारी गरिरहेका अन्य खेलाडीले भने समस्या समाधान नभएसम्म आफ्नो यात्रा स्थगित गरेको बुझिएको छ। पीसीबीले यस विषयमा तत्काल प्रतिक्रिया दिएको छैन। एनओसीबिना पाकिस्तानी खेलाडीले एनपीएल खेल्न नपाउने भएकाले यो समस्या समाधान नभएसम्म उनीहरूको सहभागिता अनिश्चित रहनेछ।
