रौतहटको सदरमुकाम गौरमा मंगलबार राति अज्ञात समूहले गोली प्रहार गर्दा २८ वर्षीय राकेश कुमार यादव गम्भीर घाइते भएका छन्। उनको शरीरमा ६ वटा गोलीका छर्रा लागेपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ।
गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकी नजिक मंगलबार राति सवा ९ बजे रामविलास यादवका छोरा राकेशमाथि गोली प्रहार भएको थियो। पेस्तोलको गोलीका छर्राले उनको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी ६ वटा चोट लागेका छन्।
प्रादेशिक अस्पताल गौरमा प्रारम्भिक उपचार भएपछि उनलाई थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा भर्ना गरिएको छ। उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
घटनास्थलबाट ७.६२ एमएम पेस्तोलको तीनवटा खाली खोका फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाबारे अनुसन्धान गरिरहेको छ।
राकेशमाथि गोली प्रहार गर्ने अज्ञात समूह को हो र यसको कारण के हो भन्ने अझै खुलेको छैन। घटनामा संलग्न व्यक्तिहरुको पहिचान र पक्राउबारे अनुसन्धान जारी छ।