काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ।
बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरण गर्न उपत्यकाका मुख्य सडक, चोक तथा नागढुङ्गालगायत प्रमुख नाकाहरूमा विशेष अभियान सञ्चालन गरिएको हो। यो अभियानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी स्वयं सडकमा खटिएका छन्।
ट्राफिक नियम उल्लङ्घन गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने तथा प्राविधिक रूपमा कमजोर सवारीसाधनलाई लक्षित गरी चेकजाँच भइरहेको छ। तीव्र गति, लापरबाहीपूर्ण सवारी सञ्चालन, ओभरटेक, मोबाइल प्रयोग र मापसे दुर्घटनाका मुख्य कारण रहेको ट्राफिक प्रहरीले जनाएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले बिहीबार नागढुङ्गामा सवारी चालकहरूलाई सिट क्षमताभन्दा बढी यात्रु नबोक्न, सवारीसाधनको अवस्था नियमित परीक्षण गर्न र ट्राफिक नियम पूर्ण पालना गर्न निर्देशन दिए। उनले भने, ‘दुर्घटना न्यूनीकरणका लागि म आफैँ पनि सडकमा खटिएर अनुगमन गरिरहेको छु। तपाईँहरू पनि ट्राफिक नियम पूर्ण रूपमा पालना गर्नुहोला।’
नागढुङ्गा, कलङ्की, कोटेश्वर, चाबहिल, जडीबुटी, बल्खु, महाराजगन्ज र नयाँ बसपार्कलगायत व्यस्त क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति बढाइएको छ। यो अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने र चेकजाँचलाई निरन्तरता दिइने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
