अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमित समूहले पुँजी बजारमा १५ देखि १६ अर्ब रुपैयाँको दुरुपयोग गरेको बताएका छन्। यस्तो समूहले बजार हेरफेर र इन्साइडर ट्रेडिङमार्फत अकुत सम्पत्ति आर्जन गरेको उनको टिप्पणी छ। ती समूहले आर्थिक र राजनीतिक संस्थामाथि समेत प्रभाव जमाउने प्रयास गरेको वाग्लेले बताए।
मंगलबार अर्थ समितिको बैठकमा मन्त्री वाग्लेले विगत केही वर्षमा वित्तीय र आर्थिक संस्थाहरू निश्चित व्यक्तिहरूको कब्जामा पुगेको कटु यथार्थ स्वीकार गर्नुपर्ने बताए। सरकारको लक्ष्य पुँजी बजारलाई व्यावसायिक, पारदर्शी र विश्वस्तरीय मापदण्डअनुसार विकास गर्नु हो।
केही समूहले बजारमा कृत्रिम प्रभाव सिर्जना गरी राजनीतिक नेतृत्वलाई समेत प्रभावित पारेको वाग्लेले बताए। ‘संस्थान र पुँजी बजारसम्बन्धी धेरै सुधारहरू भइरहेका छन्। स्टक एक्सचेन्जको पुनः संरचनाका लागि गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्छौं,’ उनले भने।
राष्ट्रपतिमार्फत हिजो स्टक मार्केट र पुँजी बजारबारे उदार नीति घोषणा भएको र यसलाई बजेटमा थप आकार दिइने उनले बताए। यसलाई व्यावसायिक बनाएर विश्वस्तरीय पुँजी बजारको मापदण्ड पछ्याउने गरी अगाडि बढाइनेछ।
मन्त्री वाग्लेले १५ देखि १६ अर्ब रुपैयाँ जनताको पैसाको अपचलन, मार्केट म्यानिपुलेसन र इन्साइडर ट्रेडिङमार्फत अकुत सम्पत्ति जम्मा गरेको विषयलाई ‘असाध्यै कटु यथार्थ’ को संज्ञा दिए। केही प्रभावशाली नेताहरूलाई समेत प्रभावमा पारेर राजनीतिक र आर्थिक संस्थाहरू कब्जा गरेको उनको भनाइ छ।
उनले ‘जेनजी आन्दोलन’ लाई धन्यवाद दिँदै भने, ‘त्यो हस्तक्षेप नभएको भए हामी भड्खालोमा जाकिने रहेछौं। अहिले मुलुकले नयाँ कोर्स लिएको छ।’ सुशासनलाई प्राथमिकता दिएको कारण मुलुक नयाँ दिशामा गएको र प्रधानमन्त्रीको जोड पहिलो वर्ष सुशासनमा केन्द्रित भएको उनले बताए।
