२३ लाख विद्यार्थीको भविष्य अन्योलमा पार्दै भारतको प्रतिष्ठित NEET-UG मेडिकल प्रवेश परीक्षा प्रश्नपत्र चुहिएपछि रद्द भएको छ। यता नेपालमा पनि कक्षा १२ को प्रश्नपत्र परीक्षाअगावै सामाजिक सञ्जालमा चुहाएको आरोपमा दुई जना पक्राउ परेका छन्।
भारतको नेशनल टेस्टिङ एजेन्सी (एनटीए) ले प्रश्नपत्र चुहावटको अनुसन्धान जारी रहँदा NEET-UG परीक्षा रद्द गर्ने निर्णय गरेको छ। मे ३ मा सम्पन्न उक्त परीक्षामा भारतभरका २२ लाख ८० हजार परीक्षार्थी सहभागी थिए।
परीक्षा सकिएको केही दिनमै प्रश्नपत्र चुहिएको खबर सार्वजनिक भयो। यसपछि विद्यार्थी र अभिभावकहरू आन्दोलित भए। भारतीय सञ्चार माध्यमहरूका अनुसार, अनुसन्धानकर्ताहरूले प्रश्नपत्र राजस्थानबाट बाहिरिएको आशङ्का गरेका छन्।
एक गेस पेपरमा ४१० प्रश्न थिए। तीमध्ये १२० प्रश्न वास्तविक परीक्षाको रसायन विज्ञान खण्डसँग हुबहु मिलेको पाइएको थियो। यो मुद्दा अब संघीय अनुसन्धान निकाय सीबीआईलाई सुम्पिएको छ।
परीक्षा रद्द भएसँगै डाक्टर बन्ने सपना बोकेका २३ लाख विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ। पुनः परीक्षा मिति घोषणा नहुँदा भर्ना प्रक्रियामा ढिलाइ हुने निश्चित छ।
यसैबीच, नेपालमा पनि राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले काठमाण्डुबाट सुर्खेतका निराजन शाही र धादिङका प्रेम कुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।
उनीहरूले ‘क्लास १२ म्यानेजमेन्ट अनली’ नामक ह्वाट्सएप ग्रूप र फेसबूक मेसेन्जरमा उत्तरसहितको प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र चुहावटबारे अनुसन्धानका लागि पत्र पठाएपछि ब्यूरोले प्राविधिक विश्लेषण सुरु गर्यो।
प्राविधिक अनुसन्धानले शाही र श्रेष्ठको संलग्नता पुष्टि गर्यो। त्यसपछि उनीहरूलाई काठमाण्डुको चाबहिलबाट पक्राउ गरियो। पक्राउ परेका दुवैमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसूरमा अनुसन्धान जारी छ। ब्यूरोले प्रश्नपत्र चुहावटमा संलग्न अन्य व्यक्तिको समेत खोजी गरिरहेको छ।
