भारत सरकारले सुन र चाँदीको आयातमा लाग्ने भन्सार महसुल ६ प्रतिशतबाट १५ प्रतिशत पुर्याएको छ, जसले बजारमा सुनको मूल्य ह्वात्तै बढाउनेछ।
बढ्दो व्यापार घाटा नियन्त्रण र डलरको तुलनामा कमजोर भारतीय रुपैयाँ स्थिर बनाउन सरकारले यो कदम चाल्यो। हालै भारतीय रुपैयाँ डलरको तुलनामा ९५.५० को ऐतिहासिक न्यून विन्दुमा पुगेको थियो।
नयाँ व्यवस्थाले १० प्रतिशत आधारभूत भन्सार महसुल र ५ प्रतिशत कृषि पूर्वाधार तथा विकास सेस गरी कुल १५ प्रतिशत कर लगाउँछ। सन् २०२४ को मध्यतिर सरकारले यो महसुल ६ प्रतिशतमा झारेको थियो।
भारत विश्वको दोस्रो ठूलो सुन उपभोक्ता राष्ट्र हो, जसले ९९ प्रतिशत सुन विदेशबाट आयात गर्छ। महँगो आयातले विदेशी मुद्रा भण्डारमा दबाब बढाएपछि सरकारले कर बढायो। कुल आयात खर्चमा सुनको हिस्सा ९ प्रतिशत छ।
भन्सार वृद्धिअघि प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई ‘एक वर्षसम्म सुनका गहना नकिन्न’ अपील गरेका थिए। विदेशी मुद्रा जोगाउनु राष्ट्रभक्ति भएको उनको भनाइ थियो।
प्रधानमन्त्रीको अपील र कर वृद्धिको समाचारसँगै टाइटन, कल्याण ज्वेलर्स र सेन्को गोल्डजस्ता ठूला ज्वेलरी कम्पनीको शेयर मूल्य ७ देखि १० प्रतिशतसम्म घट्यो।
यसैबीच, व्यवसायीहरूले भन्सार महसुल वृद्धिले सुनको तस्करी बढाउने चिन्ता व्यक्त गरे। यसअघि कर घट्दा तस्करीमा कमी आएको थियो, तर अहिलेको वृद्धिले अवैध कारोबारलाई प्रोत्साहन मिल्ने उनीहरूको भनाइ छ।
