NM Khabar 15 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रधानमन्त्री शाहको नेतृत्वमा ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ स्थापना: यी हुन् कार्यक्षेत्र

सरकारले ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ औपचारिक रूपमा स्थापना गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले यसको जिम्मेवारी सम्हालेका छन्। मन्त्रालयले नीति निर्माण, वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान, आणविक प्रविधि र औद्योगिक आधुनिकीकरणलाई प्राथमिकता दिनेछ।
Laxmi Bhattarai
Laxmi Bhattarai
15 May 2026, 1:33 pm १ मिनेट पढाइ
आकार:
Share:

प्रधानमन्त्री बालेन्द्र शाहले ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ को जिम्मेवारी सम्हालेका छन्, जुन सरकारले वैशाख ३० गते स्थापना गरेको हो।

मन्त्रिपरिषद्ले गत वैशाख ३० गते निर्णय गरी राजपत्रमा प्रकाशित नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ अनुसार यो नयाँ मन्त्रालय औपचारिक रूपमा गठन भएको हो।

यसको मुख्य कार्यक्षेत्रमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित नीति, कानून तथा मापदण्ड निर्माण पर्दछ।

वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान तथा खगोल विज्ञानसम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यही मन्त्रालयअन्तर्गत रहने व्यवस्था गरिएको छ। सरकारले विज्ञान र प्रविधिको खोज, अनुसन्धान, आविष्कार, प्रवद्र्धन तथा विकासलाई संस्थागत बनाउने उद्देश्यले मन्त्रालय गठन गरेको जनाएको छ।

मन्त्रालयले विज्ञान तथा प्रविधिसम्बन्धी तथ्यांक संकलन, प्रशोधन, सर्वेक्षण तथा मापदण्ड निर्धारणको काम गर्नेछ। पारमाणविक प्रविधि र रेडियोधर्मी पदार्थको गुणस्तर तथा उपयोगसम्बन्धी तथ्यांक प्रणाली स्थापना, व्यवस्थापन र नियमनको जिम्मेवारी पनि यसै मन्त्रालयलाई दिइएको छ।

जैविक तथा पारमाणविक प्रविधिको उपयोग, प्रवद्र्धन, नियन्त्रण र नियमनको काम पनि यही मन्त्रालयले हेर्नेछ। ओजोन तह अध्ययन, सौर्य विकिरण मापन तथा सूचना प्रवाह, वैज्ञानिक उपकरणको क्यालिब्रेशन र प्रमाणीकरण, रासायनिक पदार्थको उपयोग तथा नियमनसम्बन्धी काम पनि मन्त्रालयको कार्यक्षेत्रमा समेटिएको छ।

आणविक ऊर्जा र पारमाणविक पदार्थको व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिएको छ। मन्त्रालयले पारमाणविक पदार्थ तथा बेवारिसे स्रोतहरूको खोज, पुनर्लाभ र व्यवस्थापन गर्नेछ भने आणविक ऊर्जासम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमनको जिम्मेवारी पनि पाउनेछ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय विधि विज्ञान प्रतिष्ठान, प्लानेटेरियम, वेधशाला तथा विज्ञान सङ्ग्रहालयसम्बन्धी विषयहरू पनि अब यही मन्त्रालयअन्तर्गत रहनेछन्। नवप्रवर्तन, प्रविधि विकास र औद्योगिक आधुनिकीकरणलाई समेत मन्त्रालयको प्रमुख प्राथमिकतामा राखिएको छ।

वस्तु तथा सेवा, प्रक्रिया, प्रविधि तथा डिजाइनको विकास, सुधार र प्रयोग मन्त्रालयको जिम्मेवारीमा पर्छ। उद्योग तथा व्यवसाय क्षेत्रमा ‘इन्डस्ट्री ४.०’ र ‘इन्डस्ट्री ५.०’ जस्ता नवीनतम अवधारणाको अध्ययन, अनुसन्धान तथा उपयोगको जिम्मेवारी पनि यसै मन्त्रालयलाई दिइएको छ।

यसका साथै, मन्त्रालयले विज्ञान तथा प्रविधिसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, सम्पर्क र समन्वय गर्ने अधिकार पनि पाएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार