नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशत र १८.४ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेको जनाएको छ।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको समीक्षा प्रतिवेदन अनुसार, मुलुकको बाह्य क्षेत्र बलियो अवस्थामा रहे पनि आन्तरिक आर्थिक गतिविधिमा अपेक्षित सुधार आउन सकेको छैन।
चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। यसमा कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत, उद्योग क्षेत्रको ५.६७ प्रतिशत र सेवा क्षेत्रको ४.२१ प्रतिशत रहने प्रक्षेपण छ।
मुद्रास्फीतितर्फ केन्द्रीय बैंकले सन्तोषजनक नतिजा हासिल गरेको छ। २०८२ चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशतमा सीमित भएको छ, जुन बैंकले तोकेको ५ प्रतिशतको लक्ष्यभन्दा कम हो।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले बढेर १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।
यसैगरी, शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्ब १६ करोडले बचतमा रहेको छ भने विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँमा पुगेको छ। यो सञ्चितिले १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ, जुन न्यूनतम ७ महिनाको लक्ष्यभन्दा निकै बढी हो।
बैंकिङ क्षेत्रमा तरलता पर्याप्त भए पनि निजी क्षेत्रतर्फको कर्जा विस्तार भने सुस्त देखिएको छ। चालू आर्थिक वर्षको नौ महिनामा निजी क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशतले मात्र बढेको छ।
यद्यपि, बैंक तथा वित्तीय संस्थाहरूको औसत ब्याजदरमा कमी आएको छ। २०८२ चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.४० प्रतिशत र कर्जाको ब्याजदर ९.७७ प्रतिशत कायम भएको छ।
नीतिगत व्यवस्थातर्फ राष्ट्र बैंकले ब्याजदर करिडोर, बैंक दर, अनिवार्य नगद मौज्दात (सीआरआर) र वैधानिक तरलता अनुपात (एसएलआर) लाई यथावत राखेको छ।
ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन ‘स्थायी निक्षेप सुविधा’ उपलब्ध गराउने व्यवस्थामा पुनरावलोकन गरिने समीक्षामा उल्लेख छ।
