NM Khabar 16 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

अक्टोबर ७ आक्रमणका सूत्रधार हमास कमान्डर अल-हद्दाद इजरायली कारबाहीमा मारिए

अक्टोबर ७, २०२३ को नरसंहारका सूत्रधार मानिएका हमासको सशस्त्र शाखा प्रमुख एजेदिन अल-हद्दाद इजरायली कारबाहीमा मारिएका छन्। इजरायली सेनाले शुक्रबार गाजामा सटीक हवाई आक्रमण गरेको थियो भने हमासले पनि उनको मृत्यु पुष्टि गरेको छ।
Bikram Magar
Bikram Magar
16 May 2026, 8:35 pm १ मिनेट पढाइ
आकार:
Share:

अक्टोबर ७, २०२३ को नरसंहारका सूत्रधार मानिएका हमासको सशस्त्र शाखा प्रमुख एजेदिन अल-हद्दाद इजरायली कारबाहीमा मारिएका छन्।

इजरायली रक्षा बल (आइडिएफ) र इजरायली सुरक्षा निकाय (आइएसए) ले शुक्रबार गाजाको शहरी क्षेत्रमा अल-हद्दादलाई लक्षित गरी सटीक हवाई आक्रमण गरेको थियो। उनको मृत्युको पुष्टि भने शनिबार गरिएको हो।

हमासले पनि आफ्ना वरिष्ठ कमान्डर हद्दादको इजरायली आक्रमणमा मृत्यु भएको स्वीकार गरेको छ। हमासका दुई अधिकारीले उनको मृत्यु पुष्टि गरेका छन्। गाजा शहरमा आवासीय अपार्टमेन्ट र नागरिक गाडी लक्षित आक्रमणमा उनी मारिएका थिए।

हमास निकट स्रोतले अल-हद्दाद, उनकी श्रीमती र छोरीको पनि इजरायली आक्रमणमा ज्यान गएको जनाएको छ। एएफपीका तस्बिरहरूले हमासको झन्डाले बेरिएको हद्दादको शव भग्नावशेषबाट स्ट्रेचरमा बोकेको देखाउँछन्।

इजरायली सेनाका अनुसार, हद्दाद अक्टोबर ७ को नरसंहारका योजनाकार थिए। उनी हमासको सैन्य शाखाका अन्तिम वरिष्ठ कमान्डरमध्ये एक थिए। उनले युद्धका क्रममा इजरायली बन्धकहरूलाई लुकाउने र ठाउँ सार्ने व्यवस्थापनमा पनि संलग्न थिए।

इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हद्दादले हमासको बन्धक बन्दी प्रणालीको व्यवस्थापन गरेका थिए र बन्धकहरूलाई ढाल बनाएर पटक-पटक आफ्नो जीवन जोगाउन सफल भएका थिए।”

इजरायलका सेना प्रमुख लेफ्टिनेन्ट कर्णेल इयाल जमिरले उक्त कारबाहीलाई ‘महत्वपूर्ण उपलब्धि’ भनेका छन्। उनले फिर्ता भएका बन्धकहरूसँगको कुराकानीमा बारम्बार अल-हद्दादको नाम आउने गरेको बताएका छन्।

जमिरले भने, “आज हामी अल-हद्दादलाई हटाउन सफल भयौँ। आइडिएफले शत्रुहरूलाई पछ्याउने काम जारी राख्नेछ, उनीहरूलाई आक्रमण गर्नेछ र अक्टोबर ७ को नरसंहारमा भाग लिने सबैलाई जवाफदेही बनाउनेछ।”

इजरायलले अक्टोबर ७ आक्रमणका प्रमुख योजनाकार याह्या सिनवारसहित धेरै हमास नेताको मृत्युको जिम्मेवारी लिएको छ। युद्धका क्रममा उनीहरू मारिएका थिए।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार