कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले स्वदेशी उत्पादनको उपभोगमा जोड दिएकी छन्। राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन यो अपरिहार्य रहेको उनको भनाइ छ।
शनिबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले डिडिसीका उत्पादन प्रयोग गर्न थालेको बताइन्। उनले अन्य स्वदेशी वस्तु पनि उपयोग गरिरहेको जानकारी दिइन्। मन्त्री चौधरीले आमउपभोक्तादेखि उच्च ओहदामा रहेका सबैले स्वदेशी उत्पादनलाई माया गर्नुपर्नेमा जोड दिइन्।
मन्त्री चौधरीले स्वदेशी उत्पादनको प्रयोगले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिन्। यसले देशको अर्थतन्त्रलाई मजबुत बनाउन टेवा पुग्ने उनको भनाइ थियो। उनले भनिन्, “आन्तरिक उत्पादन वृद्धि र तिनको उपभोगमार्फत राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन आवश्यक छ।”
डिडिसीले दूध, दही, घ्यू, बटर, पनिर, आइसक्रिमलगायत विभिन्न दुग्धजन्य वस्तु उत्पादन गर्दै आएको छ। संस्थानले किसानबाट दूध सङ्कलन गरी प्रशोधनपछि उपभोक्तासम्म पुर्याउने व्यवस्था मिलाउँदै आएको छ। यसले हजारौँ दुग्ध उत्पादक किसानलाई प्रत्यक्ष लाभ पुर्याइरहेको छ।
