बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानले एकतर्फी स्वतन्त्रता घोषणा नगरोस् भन्ने पक्षमा अमेरिका नरहेको स्पष्ट पारेका छन्। अमेरिका र ताइवानबीच औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि बलियो अनौपचारिक सम्बन्ध छ।
अमेरिकी सञ्चारमाध्यम फक्स न्युजसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले अमेरिका युद्ध नचाहेको स्पष्ट पारे। उनले वर्तमान स्थिति कायम रहेमा चीन पनि सन्तुष्ट रहने विश्वास व्यक्त गरे। ट्रम्पले भने, ‘म कोही स्वतन्त्र भएको हेर्न चाहन्न। युद्ध लड्नका लागि हामीले ९,५०० माइल यात्रा गर्नुपर्ने हुन्छ, म त्यस्तो अवस्थाको खोजीमा छैन। हामी युद्ध चाहँदैनौँ, र यदि तपाईंले यसलाई अहिले जस्तो छ त्यस्तै राख्नुभयो भने मलाई लाग्छ चीन पनि यसमा सन्तुष्ट रहनेछ।’
ट्रम्पको यस अभिव्यक्तिप्रति टिप्पणी गर्दै ताइवानका उप-विदेशमन्त्री चेन मिङ-चीनले ट्रम्पको भनाइको वास्तविक अर्थ बुझ्न ताइवानलाई अझ बढी स्पष्टता आवश्यक पर्ने बताएका छन्।
उनले ताइवानलाई अमेरिकी हतियार बिक्री गर्नु अमेरिकी कानुन अन्तर्गत स्वीकृत व्यवस्था भएको स्मरण गराए। ताइवान–अमेरिका हतियार सम्झौता सधैँ क्षेत्रीय शान्ति र स्थिरताको आधारशिला रही आएको दाबी पनि उनको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति लाईका प्रवक्ताले पनि अमेरिकी हतियार बिक्री ताइवानप्रतिको अमेरिकी सुरक्षा प्रतिबद्धताको हिस्सा भएको उल्लेख गरेका छन्। यसले क्षेत्रीय खतराहरू विरुद्ध साझा प्रतिरोधको काम गर्ने उनको भनाइ छ।
ताइवानका विदेशमन्त्री लिन चिया-लुङले आफ्नो टोलीले अमेरिका-चीन शिखर वार्तामा निरन्तर नजर राखिरहेको र अमेरिका तथा अन्य मित्रराष्ट्रहरूसँग राम्रो संवाद कायम राखेको जानकारी दिएका छन्।
उनले ताइवान क्षेत्रमा सधैँ शान्ति र स्थिरताको रक्षक रहेको दाबी गरे। चीनमाथि आफ्नो आक्रामक सैन्य कदम र सत्तावादी दमनमार्फत क्षेत्रीय खतरा बढाएको आरोप पनि उनले लगाए।
ताइवानमा अधिकांश नागरिकहरू चीनसँगको सम्बन्धमा हालकै यथास्थिति कायम रहोस् भन्ने चाहन्छन्। सन् २०२५ को फेब्रुअरीमा अमेरिकी विदेश मन्त्रालयले आफ्नो वेबसाइटबाट वासिङ्टनले ताइवानी स्वतन्त्रताको विरोध गर्ने पुरानो प्रतिबद्धता दोहोर्याएको खण्ड हटाउँदा चीनले कडा आपत्ति जनाएको थियो।
