वैकल्पिक व्यवस्था नदिई बस्तीमा डोजर चलाएर लाखौंलाई आतंकित पारेको भन्दै आज बुटवलमा भूमिहीन सुकुमवासीले वृहत प्रदर्शन गरे।
नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा, यो प्रदर्शन राजमार्ग चौराहाबाट शुरु भई ट्राफिकचोकमा सभामा परिणत भयो।
संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलका अनुसार, प्रदर्शनमा २२ भन्दा बढी जिल्लाबाट हजारौं भूमिहीन सहभागी भए। पौडेलले ३० हजारभन्दा बढीको उपस्थिति रहेको दाबी गरे।
पौडेलले सरकारले गरिब सुकुमवासीका घरटहरामा विना विकल्प डोजर चलाएर उठीबास लगाएकाले सशक्त विरोध गर्न प्रदर्शन गरिएको बताए।
संघर्ष समितिका सल्लाहकार विरेन्द्र विकले सरकारको हतारोको निर्णयले देशभरका १२ लाख परिवारका झण्डै ५० लाख नागरिक प्रभावित भएको औंल्याए। लाखौं नागरिकमा मानसिक पीडा र तनाव बढेको विकले बताए। सरकारलाई दबाब दिन यो आन्दोलन गरिएको हो।
प्रदर्शनपछि भएको सभामा भूमिहीन तथा अव्यवस्थित बसोबासीका अगुवाहरूले सम्बोधन गरेका थिए।
जेठ ४ गते बुटवलमै राष्ट्रिय सम्मेलन आयोजना हुनेछ। सम्मेलनले भूमिहीन समस्या समाधानमा विज्ञहरूसँग छलफल गरी ठोस निचोड निकाल्नेछ। राष्ट्रियस्तरको संघर्ष समिति गठन गर्ने र सरकार तथा प्रमुख दलहरूलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिने विकले बताए।
यस आन्दोलनलाई नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, नेकपा माओवादीसहित रुपन्देहीका १२ राजनीतिक दलले ऐक्यबद्धता जनाए।
संघर्ष समितिले २०७६ सालमा ल्याइएको भूमि सम्बन्धी कानून कार्यान्वयनको माग गर्यो। उक्त कानूनले २०६६ सालदेखि अव्यवस्थित बसोबास गर्दै आएका नागरिकलाई एक पटकका लागि बसिरहेको स्थानमै जग्गा उपलब्ध गराउने व्यवस्था गरेको थियो।
तर, अहिलेको सरकारले अध्यादेशमार्फत ती व्यवस्था संशोधन गर्यो। त्यस्ता क्षेत्रलाई जोखिम क्षेत्र घोषणा गर्दै नागरिकलाई हटाउने कानुनी बाटो तयार गरेको छ। यसले लाखौं भूमिहीनको बिचल्ली हुने जोखिम बढेको संघर्ष समितिको ठम्याई छ।
जेठ ४ गतेको राष्ट्रिय सम्मेलनले भूमिहीनको समस्या समाधानका लागि ठोस निचोड निकाल्दै आगामी संघर्षको दिशा तय गर्नेछ।
