NM Khabar 18 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

महिला बन्दीगृहबाट कैदी फरार: प्रेमीको उक्साहटमा सीसीटीभी छलेर भागिन् सपना तामाङ

केन्द्रीय कारागारको महिला बन्दीगृहबाट फरार भएकी सपना तामाङ प्रेमी समीर श्रेष्ठकै उक्साहटमा सीसीटीभी छलेर भागेको रहस्य खुलेको छ। उनी असनस्थित प्रेमीको डेरामा पक्राउ परेकी छन्। यसअघि पनि जेलबाट भाग्न सफल भएकी तामाङको घटनाले कारागार सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
Sanjay Karki
Sanjay Karki
18 May 2026, 3:34 pm १ मिनेट पढाइ
आकार:
महिला बन्दीगृहबाट कैदी फरार
Share:

केन्द्रीय कारागारको महिला बन्दीगृहबाट जन्मकैद सजाय भुक्तान गरिरहेकी सपना तामाङ प्रेमी समीर श्रेष्ठकै उक्साहटमा सीसीटीभी छलेर भागेको रहस्य खुलेको छ। २५ वर्षीया तामाङ असनस्थित प्रेमीको डेरामा लुकेको अवस्थामा पक्राउ परेकी हुन्।

नुवाकोट घर भएकी तामाङ अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा जन्मकैद भुक्तान गरिरहेकी थिइन्। भोजपुर घर भई असनमा डेरा गरी बस्ने समीर श्रेष्ठसँग उनको जेलमै चिनजान भएको थियो। समीरकी आमा बम विस्फोट घटनामा दोषी भई कारागारमा थिइन्। आमा भेट्न जाने क्रममा सपनासँग चिनजान भई प्रेम सम्बन्ध विकास भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले Nmkhabarलाई पुष्टि गरे।

समीरकै उक्साहटमा सपना जेलबाट भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। फरार भएपछि उनी प्रेमी समीरको असनस्थित डेरामा बसेकी थिइन्।

कारागार प्रशासक कृष्ण चापागाईंका अनुसार तामाङलाई पुन: कारागारमा फर्काइएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उनले बताए।

बालिका हत्या, अपहरण र डाँकाचोरी मुद्दामा जन्मकैद सजाय भोगिरहेकी तामाङ यसअघि पनि जेलबाट फरार भएकी थिइन्। दोस्रोपटक भाग्न सफल भएपछि कारागार सुरक्षा संयन्त्र र प्रहरी समन्वयमाथि प्रश्न उठेको छ।

कारागार प्रशासनका अनुसार शनिबार बिहान करिब १:३० बजे तामाङ कारागारको पछाडिपट्टिको पर्खाल नाघेर फरार भएकी थिइन्। सीसीटीभी फुटेजमा उनी पर्खाल चढेर निस्केको देखिएको छ।

जेलर चापागाईंका अनुसार यो घटनाले योजनाबद्ध तयारीको संकेत गरेको छ। ‘सीसीटीभी फुटेज हेर्दा लामो समयदेखि योजना बनाएर अवसर कुरेको देखिन्छ,’ चापागाईंले Nmkhabarलाई भने।

तामाङ पहिलोपटक २०८२ भदौ २४ गते जेल प्रशासनले कैदीलाई खुला स्थानमा निकालेका बेला फरार भएकी थिइन्। दुई महिनापछि रसुवा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

उनी रसुवाको ६ वर्षीया बालिकाको हत्या अभियोगमा दोषी ठहर भएकी हुन्। प्रहरीका अनुसार २०७७ सालमा सुनको टप लुटेपछि घटना लुकाउन उनले बालिकाको हत्या गरेकी थिइन्। रसुवा जिल्ला अदालतले अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान तथा डाँकाचोरी मुद्दामा जन्मकैद सुनाएको थियो।

प्रहरी अनुसन्धानले तामाङ किशोर अवस्थादेखि नै चोरी तथा डकैतीमा संलग्न रहेको देखाएको छ।

सुन्धारा कारागारको सुरक्षा जिम्मा नेपाल प्रहरीका डीएसपी शैलेश न्यौपानेको नेतृत्वमा थियो। कैदी फरार हुँदासमेत सुरक्षाकर्मी बेखबर रहेको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयले आन्तरिक अनुसन्धान थालेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी प्रवीण धितालका अनुसार तामाङ कसरी भाग्न सफल भइन् र सुरक्षाकर्मीको कमजोरी थियो वा थिएन भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार