काठमाडौंको फोहोरले नुवाकोटको ककनी र धादिङको धुनिवेशीका दर्जनौं बस्तीलाई क्यान्सर, छाला र श्वासप्रश्वासका रोगले ग्रस्त पारेको छ। राजधानीलाई सफा राख्ने प्रयासमा स्थानीय वर्षौंदेखि दुर्गन्ध, प्रदूषण र रोगको जोखिमसँग जुधिरहेका छन्।
शुरुमा सिसडोलमा निर्मित ल्याण्डफिल्ड केही वर्षका लागि थियो, तर लामो समय चल्यो। स्थानीयको चर्को विरोधपछि बन्चरेडाँडामा नयाँ साइट बन्यो। सरकारले समस्या समाधान हुने दाबी गरे पनि अवस्था झन् जटिल बन्यो।
दैनिक सयौं ट्रक काठमाडौं उपत्यकाबाट फोहोर बोकेर बन्चरेडाँडा पुग्छन्। ती ट्रकसँगै गाउँमा दुर्गन्ध, धुलो, हिलो र दुर्घटनाको त्रास भित्रिन्छ। स्थानीयलाई सामान्य जीवन बिताउनसमेत कठिन छ; उनीहरू घरको झ्याल खोल्न सक्दैनन्।
स्थानीय भरत उप्रेतीका अनुसार बच्चादेखि वृद्धसम्म विभिन्न रोगबाट ग्रसित छन्। गर्मीमा फोहोर कुहिँदा असह्य दुर्गन्ध फैलिन्छ। वर्षायाममा अवस्था अझ भयावह बन्छ; झिँगा घरभित्र पस्छन्, पानी दूषित हुन्छ र खेतबारीमा समेत असर पुग्छ।
स्थानीय फोहोर व्यवस्थापनको नाममा गाउँ नै प्रदूषणको केन्द्र बनेको आरोप लगाउँछन्। भारी ट्रकका कारण विद्यालय जाने बालबालिका र बाटो हिँड्ने स्थानीय सधैं दुर्घटनाको त्रासमा छन्।
२०७९ को स्थानीय निर्वाचनपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बन्चरेडाँडा पुगे। उनले फोहोर वैज्ञानिक बनाउने र स्थानीय समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। यसले स्थानीयमा केही आशा पलाएको थियो।
तर, समय बित्दै जाँदा स्थानीयको निराशा बढ्यो। ‘सरकार फेरियो, नेता फेरिए तर गाउँको दुर्गन्ध र अवस्था फेरिएन,’ उनीहरू भन्छन्। उप्रेतीका अनुसार बन्चरेडाँडा क्षेत्रमा क्यान्सर, छालासम्बन्धी रोग, श्वासप्रश्वास समस्या, झाडापखाला र संक्रमणका घटना बढिरहेका छन्।
स्थानीय र सरकारबीच पटक–पटक सम्झौता भए। सडक निर्माण, स्वास्थ्य सेवा, राहत, रोजगारी र वातावरणीय असर कम गर्ने प्रतिबद्धता गरियो। तर, अधिकांश सम्झौता कागजमै सीमित रहेको स्थानीय हस्तबहादुर लामाले बताए। बालेन्द्र शाह नेतृत्वमा आएपछि आशा पलाए पनि अपेक्षाअनुसार काम भएन, लामा भन्छन्।
समस्या बढ्दा बेलाबेलामा आन्दोलन हुन्छ, काठमाडौंका सडकमा फोहोर थुप्रिन्छ। सरकार वार्तामा बस्छ, केही सहमति हुन्छ र फोहोर फेरि जान थाल्छ। केही समयपछि उही समस्या फेरि दोहोरिन्छ।
बन्चरेडाँडा केवल ल्याण्डफिल्ड साइट मात्र होइन। यो राज्यका अधुरा वाचाहरूको डम्पिङ साइट बनेको छ। आश्वासनका पोका गन्हाउने फोहोर बनेका छन्, गाउँमाथि थोपरिएको पीडाको प्रतीक बनेको छ।
बन्चरेडाँडाको दुर्गन्ध गाउँमा मात्र सीमित छैन; त्यो राज्य व्यवस्थाको असफलताको गन्ध बनेर फैलिरहेको छ।
