थाइल्याण्डले राष्ट्रिय सुरक्षा र पर्यटन अर्थतन्त्रलाई सुदृढ पार्ने भन्दै ९३ देशका लागि उपलब्ध ६० दिने भिसा–मुक्त प्रवेश सुविधा खारेज गरेको छ।
थाइ परराष्ट्र मन्त्रालयले कुटनीतिक पारस्परिकतालाई समेत मध्यनजर गर्दै प्रवेश प्रक्रियालाई व्यवस्थित र सुदृढ बनाउन यो निर्णय लिएको जनाएको छ।
कन्सुलर मामिला विभागका महानिर्देशक मुङकोर्न प्रतुमकाउले भिसा सुविधामा दोहोरोपन हटाउने बताएका छन्। अबदेखि प्रत्येक देश वा क्षेत्रका लागि एउटा मात्र भिसा छुट योजना लागू गरिनेछ।
सरकारले ३० दिने भिसा छुट पाउने देशको संख्या ५७ बाट ५४ मा झारेको छ। यो सुविधा अब पर्यटन प्रयोजनका लागि मात्र प्रयोग गर्न पाइनेछ।
मन्त्रिपरिषद्ले तीन देशका नागरिकका लागि १५ दिने नयाँ भिसा छुट योजना ल्याएको छ। आगमनमा दिइने भिसा (भिसा-अन-अराइभल) कार्यक्रममा पनि कटौती भएको छ। महानिर्देशक प्रतुमकाउका अनुसार, यो सुविधा ३१ बाट ४ देशमा सीमित गरिएको छ।
यो नीति आधिकारिक ‘रोयल गजेट’ मा प्रकाशित भएको १५ दिनपछि कार्यान्वयनमा आउनेछ।
