धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित नेपाल रेडक्रस सोसाइटीको सामुदायिक विकास केन्द्र मानवीय सेवाको उद्देश्यबाट विमुख भई बेवारिसे बनेको छ। चार दशकअघि परोपकारका लागि स्थापित केन्द्र अहिले चरम बेथिति र निष्क्रियताको प्रतीक बनेको छ।
एक समय विपद् व्यवस्थापनको केन्द्र बन्ने, एम्बुलेन्सको साइरन गुञ्जिने र जीवनोपयोगी तालिम सञ्चालन हुने यो परिसर अहिले सुनसान छ। भवनका ढोकामा ताल्चा झुन्डिएका छन्। मानवीय सेवाका लागि खरिद गरिएका चारवटा एम्बुलेन्स र रक्त संकलनका लागि ल्याइएको विशेष बस खुला आकाशमुनि थन्किएर कवाडीमा परिणत हुने अवस्थामा पुगेका छन्।
स्थानीय बासिन्दा धिरजकुमार महतोका अनुसार रेडक्रसको बोर्ड देखेर रगत खोज्न आउने सेवाग्राहीहरू रित्तो हात फर्किन बाध्य छन्। उनले नर्सरीबाहेक अन्य कुनै सेवा समुदायले नपाएको भन्दै यस स्थानलाई आँखा अस्पताल वा अन्य उपयोगी स्वास्थ्य केन्द्रको रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिए। ‘हामीले उनीहरूलाई जनकपुर वा बर्दिबास जान सल्लाह दिनुपर्ने अवस्था छ,’ महतोले भने।
लालगढ उपशाखाकी पूर्वउपसभापति गोमा लामाले विगतमा केही गतिविधि भए पनि अहिले सबै सेवा ठप्प भएको बताइन्। उनले संस्थाभित्रको आन्तरिक व्यवस्थापन र नेतृत्वको कमजोरीले सेवा अवरुद्ध भएको संकेत गरिन्। केन्द्रको रेखदेखमा खटिएकी कर्मचारी जीवनदेवी कोइरालाका अनुसार निर्वाचनका बेलाबाहेक अन्य समयमा कुनै औपचारिक कार्यक्रम वा स्वास्थ्य सेवा सञ्चालन भएका छैनन्।
स्थानीयले विपद्का बेला वितरण गर्न ल्याइएको राहत सामग्रीको दुरुपयोगको गम्भीर आरोप लगाएका छन्। पीडितका लागि आएका चामल, दाल र तेल जस्ता अत्यावश्यक सामग्री समयमै वितरण नगरी गोदाममै कुहाइएको र पछि खाडल खनेर गाडिएको उनीहरूको दाबी छ।
जिल्ला कार्यसमितिको निष्क्रियता र कार्यसम्पादनमा प्रश्न उठेपछि नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयले धनुषा जिल्ला कार्यसमिति भंग गरी पंकज महतोको नेतृत्वमा तदर्थ समिति गठन गरेको छ। नवनियुक्त सभापति महतोले पदभार ग्रहण गरेलगत्तै बडहरी केन्द्रको स्थलगत निरीक्षण गरी संस्थाको वर्तमान अवस्थाप्रति दुःख व्यक्त गरे।
उनले राहत सामग्री कुहाएर गाडिएको विषयमा विशेष छानबिन गर्ने र थन्किएका एम्बुलेन्स तथा बसलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए। केन्द्रलाई पारदर्शी, उत्तरदायी र समुदायमुखी बनाउने योजनाका साथ नयाँ समिति अगाडि बढ्ने उनले बताए। ‘करोडौँको संरचना र महँगा एम्बुलेन्सहरू यसरी थन्किएको देख्दा म अत्यन्तै दुःखी छु,’ महतोले भने, ‘रेडक्रस कसैको व्यक्तिगत सम्पत्ति वा गोजीको संस्था होइन।’ उनले विगतका बेथितिहरूको अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याइने दाबी गरे।
बडहरीको यो केन्द्र अहिले केवल भौतिक संरचनामा सीमित छ। यसको पुनःस्थापना र सेवा प्रवाहको सुनिश्चितता नयाँ नेतृत्वका लागि प्रमुख चुनौती बनेको छ। नयाँ नेतृत्वले केन्द्रलाई पुनर्जीवन दिने प्रतिबद्धता व्यक्त गरेसँगै स्थानीयले सेवा पुनः सुचारु हुने आशा गरेका छन्।
