भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनमा ठूलो क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदन अनुसार बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोड ९१ लाख रुपैयाँ बराबरको भौतिक तथा आर्थिक नोक्सानी भएको छ।
क्षतिग्रस्त संरचना पुनःस्थापना, पुनर्निर्माण र भविष्यमा हुने जोखिम न्यूनीकरणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५३ लाख रुपैयाँभन्दा बढी आवश्यक पर्ने प्रतिवेदनले देखाएको छ। यसमध्ये ६ महिनाभित्र गर्नुपर्ने शीघ्र पुनरुत्थानका लागि ८ अर्ब ७३ करोड ५० लाख रुपैयाँ र दीर्घकालीन पुनरुत्थानका लागि ७ खर्ब १४ अर्ब ५८ करोड ३ लाख रुपैयाँ आवश्यक पर्ने आकलन छ।
बाढीबाट पाँच जिल्लाका ७ हजार ५७० निजी भवनमा क्षति पुगेको छ। ती भवनको पुनर्निर्माणका लागि ९५ अर्ब ३४ करोड ७२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान छ। नुवाकोटमा ३ हजार ९७७, रसुवामा १ हजार ७७९, धादिङमा १ हजार ४५१, गोरखामा २६३ र चितवनमा १०० निजी भवन क्षतिग्रस्त भएका छन्।
स्थानीय तहमा नुवाकोटको विदुर नगरपालिका सबैभन्दा बढी प्रभावित छ। विदुरमा ३ हजार २६ भवनमा क्षति भएको छ। त्यसपछि रसुवाको गोसाईंकुण्डमा १ हजार ४३ र धादिङको बेनिघाट रोराङमा १ हजार ३७ भवन क्षतिग्रस्त भएका छन्। निजी भवन तथा घरायसी सम्पत्तिमा मात्रै ६३ अर्ब ८ करोड ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
गल्छी-त्रिशूली-रसुवागढी करिडोरको ६९ किलोमिटर सडकमा क्षति पुगेको छ। यसमध्ये ५५ किलोमिटर सडक पूर्ण रूपमा बगेको छ। सडक पूर्वाधारमा २३ अर्ब ४२ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। सडक पुनःस्थापनाका लागि ५५ अर्ब १८ करोड १३ लाख रुपैयाँ आवश्यक पर्नेछ।
चार जिल्लाका १०५ वटा पुलमा क्षति पुगेको छ। यसमा ३७ मोटरेबल र ६८ झोलुंगे पुल छन्। पुलमा कुल ११ अर्ब ३५ करोड ११ लाख रुपैयाँ बराबरको क्षति भएको छ। क्षतिग्रस्त पुल पुनःस्थापनाका लागि १८ अर्ब १६ करोड १७ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान छ।
ऊर्जा पूर्वाधारमा मात्रै १ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। यसमा जलविद्युत् आयोजना, सौर्य ऊर्जा प्लान्ट, प्रसारण लाइन, सबस्टेसन, वितरण लाइन र स्वीचयार्डमा भएको क्षति समावेश छ। बाढीले जलविद्युत् आयोजनाबाट २ हजार ५२० गिगावाट घण्टा र सौर्य ऊर्जाबाट २१०.४८ गिगावाट घण्टा विद्युत् उत्पादनमा नोक्सानी पुर्याएको छ। ऊर्जा क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ३ खर्ब ८९ अर्ब ५७ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान छ।
सात स्वास्थ्य संस्था प्रभावित भएका छन्। चार स्वास्थ्य चौकी पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। स्वास्थ्य संस्थामा २३ करोड ६६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्वास्थ्य संस्था पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ७८ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान छ।
प्रतिवेदनले बाढीपछिको पुनरुत्थानलाई क्षतिग्रस्त संरचना पुनर्निर्माणमा मात्र सीमित नगरी भविष्यमा यस्ता विपद्बाट हुने क्षति घटाउने गरी अघि बढाउनुपर्ने सुझाव दिएको छ। सुरक्षित स्थान छनोट, विपद् प्रतिरोधी डिजाइन, वातावरणीय सुरक्षा र प्रभावकारी पूर्वसूचना प्रणालीमा लगानी बढाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।
