उत्तरी नाका कोरलामार्फत आयात गरिएका बिवाईडीका ७५० विद्युतीय सवारी साधन (इभी) सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। मुस्ताङको कागबेती तर्फ लैजाँदै गरेका यी गाडीहरूको आयातसम्बन्धी कागजात र भन्सारको ‘डकुमेन्ट’ नमिल्एको सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका अधिकांश गाडी बिवाईडीका छन्। ती गाडीहरूमा नम्बर प्लेटसमेत राखिएको छैन। भन्सार प्रक्रिया जाँच गर्न गाडीहरूलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका एक अधिकारीले बताए।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि इभी गाडीसम्बन्धी करका दर परिवर्तन हुने सूचना पाएर हतारमा गाडी भित्र्याइएको हुनसक्ने आशंका छ। बजेटअघि नै करका दरमा फेरबदल हुने सूचना पाएपछि बिवाईडीले सयौं गाडी नाकामा नआउँदै कागज मिलाएर जाँचपास गराएको तथ्य बाहिरिएको थियो।
साइमेक्स इंक प्रालिले रसुवा भन्सार कार्यालयबाट १ सय ८७ गाडीको प्रज्ञापनपत्र बनाएर करसमेत तिरेको थियो। तर, बजेटअघि कागजमा जाँचपास गराइएका २०-३० वटा गाडी मात्र भन्सार पास भए। बाँकी गाडी जेठ १८ गतेसम्म पनि भन्सार पास भएका थिएनन्।
त्यसपछि भन्सार विभाग र सुरक्षा संयन्त्रले निगरानी बढाएको थियो। सोही क्रममा सशस्त्र प्रहरीले बिवाईडीका सयौं गाडीहरू नियन्त्रणमा लिएको हो। हाल उक्त विषयमा भन्सार विभागले समेत अध्ययन गरिरहेको छ।
