NM Khabar 28 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सहकारीमा लेखापरीक्षकको मिलेमतो: १५ करोड हिनामिना ढाकछोपको खुलासा

सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदनले लेखापरीक्षकहरू सञ्चालकको प्रभावमा परी अनियमितता ढाकछोप गरेको निष्कर्ष निकालेको छ। यसले १५ करोड हिनामिना प्रकरणको रहस्य खोलेको छ। प्रतिवेदनले कानुनले अनिवार्य गरेको लेखापरीक्षण औपचारिकतामा सीमित भएको र विभागको निष्क्रियताले अनियमितता बढेको औँल्याएको छ।
Arjun Basnet
Arjun Basnet
28 May 2026, 4:32 pm १ मिनेट पढाइ
आकार:
Share:

सहकारी संस्थाभित्रको वित्तीय अपचलनमा लेखापरीक्षकहरूको समेत मिलेमतो रहेको जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ। आयोगको प्रतिवेदनले लेखापरीक्षकहरू सञ्चालकहरूको प्रभावमा परी अनियमितता ढाकछोप गर्न सघाएको औँल्याएको छ।

‘सहकारी संस्थाभित्र वित्तीय अपचलन हुनुमा नियमित र गुणस्तरिय लेखा परीक्षण नहुनु नै प्रमुख कारण हो,’ प्रतिवेदनमा उल्लेख छ। कानुनले अनिवार्य गरेको वार्षिक लेखा परीक्षण कतिपय सहकारीमा औपचारिकतामा मात्र सीमित छ।

सहकारी विभागले कानुनले दिएको अधिकार प्रयोग नगर्दा समस्या बढेको प्रतिवेदनमा छ। ऐन अनुसार समयमै लेखा परीक्षण नगराए इजाजतप्राप्त लेखापरीक्षकबाट गराउनुपर्ने व्यवस्था छ। विभागले यसमा कडाइ नगर्दा सहकारीभित्र अनियमितता बढेको आयोगको ठहर छ।

‘सहकारीसँग सम्बद्ध लेखापरीक्षकहरू गलत भए पनि कैफियत रहित प्रतिवेदन दिने प्रवृत्ति व्यापक छ,’ प्रतिवेदनमा छ। लेखापरीक्षण प्रतिवेदनमा औँल्याइएका अनियमिततामाथि नियमित जाँच र कारबाही हुने गरेको देखिँदैन।

सहकारीमा लेखापरीक्षक नियुक्ति प्रक्रिया स्वतन्त्र नहुँदा स्वार्थको द्वन्द्व हुने गरेको आयोगको ठहर छ। डिजिटल लेखा परीक्षण र रियल टाइम निगरानी जस्ता प्रणाली व्यवहारमा लागू नहुँदा समस्या थपिएको छ।

सहकारी ऐन २०४८ र २०७४ ले रजिस्ट्रार वा अधिकारप्राप्त अधिकारीलाई सहकारीको निरीक्षण र हिसाब जाँच गर्ने अधिकार दिएको छ। तर, सहकारी विभाग, राष्ट्रिय सहकारी नियमन प्राधिकरण, प्रदेश तथा स्थानीय तहबाट गरिने अनुगमनमा समन्वयको अभावले समेत समस्या आएको आयोगले औँल्याएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार