नेकपा (एमाले) का उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी आत्मसमीक्षा र पुनर्गठनको बाटोबाट मात्र अगाडि बढ्न सक्ने दाबी गरेका छन्। जुनसुकै बहानामा यसलाई रोक्न खोज्नु पार्टीको अधोगति निम्त्याउनु हुने उनको तर्क छ।
पोखरेलको यो अभिव्यक्ति पार्टीको जारी सचिवालय बैठकमा नेतृत्व परिवर्तनलाई लिएर चर्काचर्की भइरहेकै बेला आएको हो। शुक्रबारको बैठकमा पार्टीका पाँच उपाध्यक्षमध्ये चार जनाले अध्यक्ष केपी शर्मा ओलीसँग राजीनामा मागेका छन्।
उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले एमालेलाई वर्तमान कमजोर अवस्थामा पुर्याएको जिम्मेवारी अध्यक्ष ओलीले लिनुपर्ने भन्दै नेतृत्व हस्तान्तरणको माग गरेका हुन्।
यता अध्यक्ष ओलीले भने राजीनामा नदिने अडान राख्दै उपाध्यक्षहरूलाई विरोधी शक्तिसँग मिलेर पार्टीलाई संकटमा पार्ने प्रयास गरेको आरोप लगाएका छन्। नेतृत्वको विषयलाई लिएर तीव्र विवाद भएपछि शुक्रबार स्थगित भएको सचिवालय बैठक शनिबार (आज) बिहान ११:३० बजे गुण्डुस्थित ओली निवासमा पुनः बस्दैछ।
