धनुषा जिल्ला कृषि विकास कार्यालयका तत्कालीन प्रमुख सुकेश्वर झासहित चार जनाविरुद्ध ७२ लाख ५९ हजार रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि छानबिनपछि कारबाही अघि बढाएको हो।
आयोगले तत्कालीन कार्यालय प्रमुख झा, लेखापाल रामचन्द्र ठाकुर, प्राविधिक सहायक देवेन्द्रलाल कर्ण र सुदिश माछापालन केन्द्रका प्रोप्राइटर राम सुदिश शरणलाई प्रतिवादी बनाएको छ। उनीहरूले आर्थिक वर्ष २०७४/०७५ मा कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम अन्तर्गत माछाको भुरा वितरणका लागि विनियोजित २ करोड ३४ लाख २८ हजार रुपैयाँमध्ये ठूलो रकम हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ।
सरकारी फार्मबाट खरिद गर्नुपर्ने माछाको भुरा निजी फार्मबाट खरिद गरिएको, प्राप्त नै नभएको भुरालाई प्राप्त भएको देखाइएको तथा नक्कली बिल, भरपाई र किसानको नाममा झुट्टा कागजात तयार गरी सरकारी रकम भुक्तानी गरिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
आयोगका अनुसार भुरा नपाएका किसानको नाममा समेत वितरण भएको झुट्टा विवरण तयार गरिएको थियो। नक्कली नाम, ठेगाना, वितरण विवरण र हस्ताक्षरसहितका कागजात बनाएर ७२ लाख ५९ हजार ९० रुपैयाँ बराबरको सरकारी रकम अनियमित भुक्तानी गरेको आरोपपत्रमा उल्लेख छ।
आयोगले चारै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम समान ७२ लाख ५९ हजार ९० रुपैयाँ बिगो कायम गर्दै कैद, जरिवाना र बिगो असुलउपरको मागदाबी गरेको छ। निजी फार्मका सञ्चालक राम सुदिश शरणलाई मतियार बनाएर गैरकानुनी लाभ लिएको अभियोग पत्रमा उल्लेख छ।
