दिक्तेल–चखेवा सडक खण्डको माम्खामा निर्माणाधीन ग्याबियन पर्खाल दोस्रोपटक भासिएको छ। पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यो खण्डमा जेठ १५ गतेदेखि वर्षासँगै पर्खाल भासिन थालेको हो।
डिभिजन सडक कार्यालय ओखलढुङ्गामार्फत ‘हाइवे इम्प्रभमेन्ट वर्कस’अन्तर्गत निर्माणाधीन यो पर्खालको काम अन्तिम चरणमा पुगेकै बेला भासिएको निर्माण कम्पनी दोभान निर्माण सेवा धनकुटाले जनाएको छ। सडक साँघुरो फराकिलो बनाउने क्रममा तारजाली लगाएर माटो भरेको ठाउँमा सम्याउँदा पर्खाल भासिएको कम्पनीको स्वीकारोक्ति छ।
स्थानीयवासीले भने भित्तातर्फको चट्टान काटेर सडक चौडा गर्नुपर्नेमा ग्याबियन पर्खाल लगाउँदा समस्या आएको आरोप लगाएका छन्। स्थानीय भीमराज राईका अनुसार सामान्य वर्षाले सडक भासिँदा देबेन्द्र राई, हर्कमान राई, लोकेन्द्र राई, हेमराज राई, नरबहादुर राई र उहाँसहित ६ घरधुरी पहिरोको उच्च जोखिममा परेका छन्। सडक भासिँदा घर मात्र नभई मकैबारीका गह्रासमेत चर्किएको राईले बताए।
ठेकेदारले काममा लापरबाही गरेको स्थानीयको गुनासो छ। ढुङ्गा बढी हाल्नुपर्नेमा खाली ठाउँमा माटो मात्र पुरेकाले सडक भासिएको हुनसक्ने उनीहरूको भनाइ छ।
झन्डै एक दशकअघि मध्यपहाडी लोकमार्ग कालोपत्रे गर्ने क्रममा यही ठाउँमा लगाइएको आरसीसी पर्खाल पनि भासिएको थियो। त्यसबेला कालोपत्रेका लागि तयार अवस्थामा आरसीसी पर्खाल ढल्किएपछि त्यसलाई छाडेर बाँकी खण्डमा कालोपत्रे गरिएको थियो। हाल लगाइएको ग्याबियन पर्खाल पनि भासिएपछि अब के गर्ने भन्नेबारे छलफल भइरहेको छ।
डिभिजन सडक कार्यालय प्रमुख (डिई) सविन जोशीको प्राविधिक टोलीले भासिएको ठाउँको अवलोकन गरी प्रतिवेदन पेश गरेपछि थप कुरा स्पष्ट हुने बताएको छ। प्रारम्भिक अनुगमनमा कमजोर भूबनोटले गर्दा पर्खाल भासिएको डिई जोशीले बताए। उनले माम्खाको प्राविधिक समस्या फरक प्रकृतिको रहेको र ठेकेदारको कमजोरी हो वा अन्य कारण हो भन्ने यकिन गर्न विज्ञ प्राविधिकको अध्ययन आवश्यक रहेको बताए।
निर्माण कम्पनीले दिक्तेल–चखेवा सडक खण्डका विभिन्न स्थानमा ग्याबियन वाल, प्लम वाल लगायतका काम गर्न २ करोड ७९ लाख ७७ हजार ९१२ रुपैयाँमा ठेक्का लिएको थियो। २०८२ मंसिर ४ गते ठेक्का सम्झौता गरी गत वैशाख ६ गतेभित्र काम सक्नुपर्नेमा म्याद थप गरी २०८३ असार १५ गतेसम्म पुर्याइएको काम पर्खाल भत्केपछि अलपत्र परेको छ।
यस खण्डको पङ्खुखोलामा निर्माणाधीन मोटरेबल पुल पनि अधुरै छ। पुल नहुँदा वर्षायाममा यातायातमा कठिनाई हुने गरेको छ। यसअघि श्रम संस्कृति पार्टीका कार्यकर्ताले श्रमदानमा काठे पुल बनाएर आवतजावत सहज बनाएका थिए।
त्यस्तै, दिक्तेल–चखेवा खण्डकै सेखुवा खण्डको १० किलोमिटर सडक कालोपत्रे गर्ने काम पनि ठेकेदारको चरम लापरबाहीले अलपत्र परेको छ। २०७२ चैत २ गते ३२ करोड रुपैयाँमा ठेक्का सम्झौता गरी २०७५ फागुन ३० गतेभित्र निर्माण सक्नुपर्ने काम विगत ४ वर्षदेखि अलपत्र छ।
