NM Khabar 27 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सरकारी अस्पतालमा दुई दिन बिदा: बिरामी मर्कामा, निजीमा चाप

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयले देशभरका सरकारी अस्पताल आइतबार बन्द भएका छन्। यसले गर्दा बिरामीहरू मर्कामा परेका छन् र निजी अस्पतालमा बिरामीको चाप बढेको छ। स्वास्थ्यविद्हरूले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा दुई दिन बिदा दिनु गलत कदम भएको बताएका छन्।
Sarita Pandey
Sarita Pandey
27 May 2026, 5:32 am १ मिनेट पढाइ
आकार:
सरकारी अस्पताल बिदा
Share:

सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा घोषणा गरेसँगै देशभरका सरकारी अस्पताल आइतबार बन्द हुँदा बिरामीहरू समस्यामा परेका छन्। आधारभूतदेखि केन्द्रीय तथा विशिष्ट अस्पतालहरूमा समेत दुई दिन सेवा बन्द भएको छ। वीर अस्पताल, टिचिङ, प्रसूति गृह, राष्ट्रिय ट्रमा सेन्टर, भक्तपुर क्यान्सर अस्पताल लगायत सबैमा सेवा बन्द छ।

यसको विपरीत, निजी अस्पतालहरूले भने आइतबार सेवा सुचारु राखेका छन्। धुलिखेल अस्पताल, ह्याम्स, मेडिसिटी, नर्भिक, बि एण्ड बी लगायतका निजी अस्पतालहरूले सेवा सञ्चालन गरेका छन्।

सरकारको दुई दिने बिदाको निर्णयले अस्पताल र बिरामी दुवैलाई मर्का परेको छ। ठूला सरकारी अस्पतालहरूमा सोमबार बिरामीको चाप अत्यधिक बढेको छ। वीर अस्पतालमा दैनिक औसत २८ सय बिरामी आउनेमा दुई दिन बिदापछि सोमबार बहिरङ्ग विभागमा ४३ सय जनासम्म आउने गरेको अस्पताल स्रोतले जनाएको छ।

टिचिङ अस्पतालमा पनि सोमबार बिरामीको चाप बढेको छ। आइतबार सेवा खुल्दा २५ सय जना बहिरङ्ग सेवा लिन आउनेमा दुई दिन बिदापछि सोमबार ३५ सय जनासम्म आउने गरेको छ। यो चाप मंगलबार र बुधबारसम्म जारी रहने अस्पतालका निर्देशक डा. सुभाष आचार्यले बताए।

इन्धनको समस्या देखाउँदै सरकारले सबै सरकारी निकायमा साताको दुई दिन सार्वजनिक बिदा लागू गर्न बाध्य भएको अस्पतालहरूले जनाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीलाई मर्का नपर्ने गरी सेवा दिन सूचना जारी गरे पनि राजपत्रमा जारी सूचनालाई परिर्वतन गर्न व्यवहारिक कठिनाई भएको अस्पतालहरूको भनाइ छ।

जनस्वास्थ्यविद् डा. शरद वन्तले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा दुई दिन बिदा दिनु गलत कदम भएको बताएका छन्। उनले यसले नागरिकको स्वास्थ्य अधिकार खुम्चिएको र बिदाको दिन काम गरेको अतिरिक्त रकम भुक्तानीको व्यवस्था नहुँदा समस्या आएको बताए।

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले सरकारले उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन्। उनले सट्टामा काम गर्ने कर्मचारीलाई थप भुक्तानीको व्यवस्था गर्नुपर्ने र मुख्य अस्पतालहरूमा अतिरिक्त काम गर्नेलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार