राष्ट्र बैंकको अनुमतिबिना नेपाल किसान बैंक लिमिटेड र राष्ट्रिय खाद्य बैंक लिमिटेड गैरकानुनी रूपमा सञ्चालनमा आएका छन्। यी दुवै संस्थाले ‘बैंक’ नाम प्रयोग गर्न राष्ट्र बैंकको स्वीकृति लिएका छैनन्।
स्रोतका अनुसार, दुवै बैंकले राष्ट्र बैंकको स्वीकृति नलिई ‘साइनबोर्ड’ राखेर कारोबार सञ्चालन गरिरहेको पाइएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ३२ ले ‘बैंक’ वा ‘वित्तीय संस्था’ नाम प्रयोग गर्न राष्ट्र बैंकको अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ। यी दुवै कम्पनीले उक्त प्रक्रिया पूरा गरेका छैनन्।
राष्ट्र बैंकको स्वीकृतिबिना सञ्चालनमा रहेका यी बैंकहरूमाथि कारबाही हुनुपर्नेमा राष्ट्र बैंकले कुनै ‘एक्सन’ लिएको छैन। राष्ट्र बैंक यस विषयमा मौन छ।
अझ रहस्यमय पक्ष के छ भने, गैरकानूनी रूपमा सञ्चालित राष्ट्रिय खाद्य बैंकमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री सल्लाहकार तथा आर्थिक संयोजक छन्। राष्ट्र बैंककै सञ्चालक समिति सदस्य डा. शंकरप्रसाद आचार्य पनि यस बैंकको सल्लाहकार रहेका छन्। उनीहरूको संलग्नताका कारणले नै राष्ट्र बैंकले कारबाही गर्न नसकेको वा नचाहेको आशंका गरिएको छ।
राष्ट्रिय खाद्य बैंकले आफ्नो आधिकारिक वेबसाइट समेत सञ्चालनमा ल्याएको छ। नेपाल किसान बैंकको भने हालसम्म कुनै आधिकारिक वेबसाइट नभएको बताइएको छ।
