मधेस प्रदेश लागुऔषधको ओसारपसार र दुर्व्यसनको गम्भीर चुनौतीको सामना गरिरहेको छ। भारतसँग जोडिएको खुला सीमा र फितलो निगरानीले हजारौं युवा पुस्तालाई जोखिममा पारेको छ। कलेज छोड्नुपर्ने र लाखौं खर्च गरेर पनि उपचार गराउँदा लतमा फर्कने जस्ता घटनाहरू सामान्य बन्दै गएका छन्।
प्रहरीले निरन्तर कारबाही चलाइरहे पनि लागुऔषधको पहुँच गाउँदेखि सहरसम्म फैलिएको छ। हरेक पक्राउ र बरामदपछि नयाँ सञ्जाल कसरी बन्छ र युवाहरू बारम्बार किन यस दलदलमा फस्छन् भन्ने प्रश्न अनुत्तरित छ।
मधेस प्रदेश सरकारले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि र प्रदेश प्रहरीले निगरानी बढाउन निर्देशन दिए पनि दैनिकजसो लागुऔषध बरामद, कारोबारी पक्राउ तथा दुर्व्यसनमा फसेका युवाको समाचार सार्वजनिक भइरहेका छन्।
मधेस प्रदेशका आठ जिल्लामा करिब ३६५ किलोमिटर खुला सीमा छ। सीमापार भारतीय बजारमा लागुऔषध सहजै उपलब्ध हुने भएकाले नेपालका युवाहरूका लागि ती क्षेत्र सुरक्षित गन्तव्य बनेका छन्। धनुषामा मात्र पछिल्लो तीन वर्षमा १७० वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन्। यस अवधिमा २२० जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार नेपालबाट गाँजा भारततर्फ जाने र भारतबाट ट्याब्लेट तथा ब्राउन सुगर नेपाल भित्रिने क्रम देखिएको छ। ठूलो परिमाणमा बरामद हुनुका साथै धेरैलाई पक्राउ गरी मुद्दा चलाइएको छ। अन्यको खोजी जारी छ।
प्रहरीका अनुसार लागुऔषध प्रयोगकर्तामध्ये १५ देखि २८ वर्ष उमेर समूहका युवा सबैभन्दा बढी छन्। यस दुर्व्यसनले चोरी, डकैती, लुटपाट, सडक दुर्घटना तथा अन्य आपराधिक गतिविधिमा समेत प्रभाव पारेको छ। नागरिक समाजका अगुवा नन्दकिशोर झाका अनुसार वैदेशिक रोजगारीमा गएका अभिभावकका सन्तान, साथीको लहैलहै र विद्यालय जाने भन्दै झुट बोल्ने प्रवृत्तिले समस्या बढाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार सीमावर्ती क्षेत्रमा प्रहरीको निगरानी बढाइएको छ। भारतका प्रहरीसँग सहकार्य गरेर कारोबारी र दुर्व्यसनमा संलग्नलाई नियन्त्रणमा लिइएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार ४९६ जनामा गरिएको किट परीक्षणमा २६४ जना पोजेटिभ भेटिएका छन्। तीमध्ये २२० जनालाई अभिभावकको जिम्मा लगाइएको छ। २३ जनाविरुद्ध मुद्दा चलाइएको छ।
मधेस प्रदेशका सञ्चार तथा कानुन मन्त्री फकिरा महतो लागुऔषध नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेको बताउँछन्। प्रहरी प्रशासनलाई स्रोत–साधन उपलब्ध गराउने, पुनर्स्थापना केन्द्रलाई सुदृढ बनाउने र पीडित परिवारलाई मनोसामाजिक सहयोग उपलब्ध गराउने काम अघि बढेको जानकारी उनले दिए।
न्यु मुस्कान पुनर्स्थापना केन्द्र, जनकपुरका निर्देशक सन्तोष ठाकुरका अनुसार केन्द्रमा १४ देखि ६० वर्षसम्मका व्यक्ति आउने गरेका छन्। विगत वर्षभन्दा यो वर्ष युवाहरूको सङ्ख्या केही घटेको देखिए पनि किशोरी र महिलाहरूको सङ्ख्या बढेको छ। साथीको लहैलहै, बेरोजगारी, घरायसी कलह र प्रेममा बिछोडजस्ता कारणले व्यक्ति दुर्व्यसनमा फस्ने गरेको पाइएको छ।
मानसिक रोग विशेषज्ञ डा. रावित रञ्जनका अनुसार पछिल्लो समय मधेसमा लागुऔषध दुर्व्यसन चिन्ताजनक रूपमा बढेको छ। १५ देखि ३० वर्ष उमेर समूहका किशोर–युवा बढी प्रभावित छन्। किशोरी र युवतीहरू पनि यसको चपेटामा पर्न थालेका छन्।
जनकपुर प्रादेशिक अस्पतालका मानसिक रोग विशेषज्ञ डा. तेजनारायण महतोका अनुसार धेरै युवाले सुरुमा चुरोट, मदिरा वा गाँजाबाट सुरु गर्छन्। पछि ट्याब्लेट, सिरिन्जमार्फत प्रयोग गरिने लागुऔषध र अन्य कडा पदार्थतर्फ आकर्षित हुन्छन्। यसले डिप्रेसन, चिन्ता, अनिद्रा, आक्रामक व्यवहार, स्मरणशक्ति कमजोर हुने, पढाइ छोड्ने, परिवारसँग सम्बन्ध बिग्रिने र आत्मघाती सोच जस्ता समस्या बढाएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार प्रहरीले नियमित चेकजाँच, विशेष अभियान, गस्ती तथा सूचनाको आधारमा कारबाही सञ्चालन गर्दै आएको छ। गाँजा, ब्राउन सुगर, ट्रामाडोल, डाइलेक्स, नाइट्राभेटलगायतका लागुऔषध बरामद भएका छन्। ओसारपसार तथा बिक्री–वितरणमा संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।
खुला सीमाका कारण प्रहरीको कारबाही मात्र पर्याप्त नहुने भन्दै ढकालले परिवार, विद्यालय, स्थानीय तह, स्वास्थ्य संस्था र समुदाय सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए। युवालाई सचेतना, परामर्श र उपचार उपलब्ध गराउन सके मात्र दुर्व्यसन न्यूनीकरण प्रभावकारी हुने उनको भनाइ छ।
जेठ महिनामा प्रदेशभर लागुऔषध ओसारपसारमा संलग्न ८० जना तथा १३ वटा सवारीसाधन नियन्त्रणमा लिइएको थियो। असार १ देखि २४ गतेसम्म ५२ जनालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको छ।
मधेस प्रदेशमा लागुऔषध दुर्व्यसन केवल कानुनी अपराध मात्र नभई गम्भीर सामाजिक, स्वास्थ्य र विकासको चुनौती बनेको छ। खुला सीमा, बेरोजगारी, साथीभाइको दबाब, कमजोर पारिवारिक निगरानी र बढ्दो मानसिक तनावका कारण विशेषगरी किशोर–किशोरी दुर्व्यसनको जोखिममा परिरहेका छन्। कानुनी कारबाहीसँगै विद्यालय, परिवार, समुदाय, स्वास्थ्य संस्था र तीनै तहका सरकारबिच प्रभावकारी समन्वय अपरिहार्य देखिन्छ। सचेतना, रोजगारीका अवसर, सहज उपचार सेवा र प्रभावकारी पुनर्स्थापना नै युवालाई लागुऔषधबाट जोगाउने दीर्घकालीन उपाय हुन्।
