महोत्तरीसहित मधेश प्रदेशमा विगत केही दिनदेखि जारी अत्यधिक गर्मीले जनजीवन कष्टकर बनेको छ। बिहानैदेखि चर्को घाम लाग्दा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन सर्वसाधारणलाई गाह्रो भएको छ। दिउँसोको समयमा बजार, सहर र ग्रामीण सडकमा चहलपहल निकै घटेको छ।
यो चरम गर्मीले दैनिक ज्याला मजदुरी गर्नेहरूलाई विशेष असर पारेको छ। गौशाला नगरपालिका-४, राजखोरका ४५ वर्षीय रामबहादुर सदाले काममा नजाँदा परिवार पाल्न धौ हुने भएकाले चर्को गर्मीमा पनि काम गर्न बाध्य भएको बताए। विगत चार-पाँच दिनयता तापक्रम निकै बढेको उनको अनुभव छ।
औराही नगरपालिका-२ का ७० वर्षीय किसान राम दिनेश यादवले गर्मीले बाहिर हिँडडुल गर्न पनि असहज भएको बताए। सडक, घर र खेत सबै तात्तिएको र तातो हावा चलेर जनजीवन थप कष्टकर बनेको उनको भनाइ छ। पानीसमेत तातो महसुस हुने र निरन्तर पसिना आउँदा दैनिकी प्रभावित भएको छ।
गौशालाका व्यापारी रमेश गुप्ताले गर्मीले गर्दा दिउँसो ग्राहकको संख्या ह्वात्तै घटेको बताए। साँझको समयमा तापक्रम केही सहज भएपछि मात्र बजारमा किनमेल गर्ने ग्राहकहरू आउने गरेका छन्।
बढेको तापक्रमले विद्युत्को माग बढाएको छ, जसले गर्दा गौशाला र बर्दिबास क्षेत्रमा बारम्बार विद्युत् कटौती हुन थालेको छ। पंखा, कुलर, फ्रिज र पानी पम्पको प्रयोग बढेपछि विद्युत् प्रणालीमा थप चाप परेको छ।
स्थानीयवासीहरूले नेपाल विद्युत् प्राधिकरणसँग असन्तुष्टि जनाएका छन्। गर्मीयाममा हुने विद्युत् समस्याको पूर्वानुमान गरी समयमै तयारी गर्नुपर्ने उनीहरूको तर्क छ। विगत केही दिनयता बारम्बारको विद्युत् कटौतीले रातिको समयमा पनि जनजीवन असहज बनेको छ।
गौशालाका युवा धनवीर महतोले सार्वजनिकस्थलमा पिउने पानीको व्यवस्था गर्न र सडकमा पानी छर्केर गर्मी कम गर्नुपर्ने सुझाव दिए। स्थानीय सरकारले गर्मीबाट बच्न अपनाउनुपर्ने उपायबारे जनचेतना फैलाउनुपर्नेमा पनि उनले जोड दिए।
दिउँसोको गर्मी बढ्दै जाँदा धेरै मानिसहरू साँझ परेपछि मात्र घरबाट निस्कने गरेका छन्। पार्क, जलाधार क्षेत्रलगायत खुला ठाउँमा भीड लाग्न थालेको छ भने केही बासिन्दाहरू शीतलहरका लागि स्विमिङ पुलमा पुगेका छन्।
जल तथा मौसम विज्ञान विभागको जनकपुर कार्यालयका मौसमविद् राजीव झाले आगामी तीन दिनसम्म यस्तै गर्मी जारी रहने बताएका छन्। उनको अनुमानअनुसार अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्नेछ।
स्वास्थ्यकर्मीहरूले गर्मीले हुने विभिन्न रोगहरू, जस्तै डिहाइड्रेसन, टाउको दुखाइ, ज्वरो र अत्यधिक थकानका बिरामी बढेको बताएका छन्। डा. अविनाश मण्डलले गर्मीको प्रभाव व्यक्तिअनुसार फरक हुने भए पनि बालबालिका, सुत्केरी महिला, वृद्धवृद्धा र मुटुरोगीहरू बढी जोखिममा रहेको बताए। उनले प्रशस्त पानी पिउन, घाममा अनावश्यक ननिस्कन र स्थानीय निकायलाई सार्वजनिकस्थलमा शुद्ध पिउने पानीको व्यवस्था गर्न आग्रह गरे।
उनले चरम गर्मीमा पर्याप्त पानी नपिउँदा ज्यानै जोखिममा पर्न सक्ने चेतावनी दिएका छन्।
