NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

दार्चुलामा खानेपानी योजना अलपत्र: डेढ सय घरधुरी वर्षौंदेखि प्रतिक्षामा

दार्चुलाको मालिकार्जुन गाउँपालिकाका बजानी, सिराड, श्रीराड र ठिङ बस्तीका डेढ सय घरधुरी खानेपानीको चरम अभाव झेल्दैछन्। २०७९ मा सुरु भएको लिफ्टिङ योजना चार वर्ष बितिसक्दा पनि अलपत्र छ, जसको मुख्य कारण बजेट अभाव, मजदुर नपाइनु र भौगोलिक विकटता हो।
Maya Thapa
Maya Thapa
3 June 2026, 5:04 pm १ मिनेट पढाइ
आकार:
मालिकार्जुन खानेपानी समस्या
Share:

दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का बजानी, सिराड, श्रीराड र ठिङ बस्तीका डेढ सय घरधुरीका लागि २०७९ मा सुरु भएको खानेपानी योजना चार वर्ष बित्दा पनि अधुरै छ, जसले उनीहरूलाई पानीको हाहाकारमा धकेलेको छ।

बर्खामा केही मुहानबाट थोरै पानी उपलब्ध भए पनि हिउँद सुरु हुनासाथ गाउँभर पानीको हाहाकार मच्चिन्छ। पानीका थोपा जोगाउन अधिकांश परिवारले दर्जनौँ प्लास्टिकका जर्किन, गाग्री र ड्रम थन्क्याएका छन्। स्थानीय गजेन्द्रसिंह धामी भन्छन्, “अहिलेको समयमा पनि नागरिकले खानेपानीका लागि यति दुःख पाउनुपर्ने अवस्था रहनु दुःखद् हो।”

बस्तीभन्दा करिब एक किलोमिटर तल बग्ने जतारी खोलाबाट लिफ्टिङ प्रविधिमार्फत पानी ल्याउने उद्देश्यसहित २०७९ सालमा खानेपानी योजना सुरु गरिएको छ। योजना सुरु भएको चार वर्ष बित्न लाग्दा पनि यो अझै अधुरै छ। हालसम्म मुहान क्षेत्रमा पानी ट्याङ्की निर्माणबाहेक उल्लेख्य प्रगति हुन सकेको छैन।

स्थानीय चन्द्रसिंह धामी भन्छन्, “अरू ठाउँमा प्रत्येक घरमा धारा पुगेका छन्। यहाँ भने अहिले पनि पानीकै लागि घण्टौँ हिँड्नुपर्छ।” उनले राज्यले आधारभूत खानेपानी उपलब्ध गराउनुपर्ने बताए। डेढ सय घरधुरीको बसोबास रहेको यी बस्तीमा खानेपानी गाउँमा समयमै नपुग्नुमा नागरिक एकतासमेत नहुनु उनले अर्थ्याए।

खानेपानी अभावको सबैभन्दा ठूलो असर बालबालिकामा परेको छ। विद्यालय जाने उमेरका विद्यार्थीहरू दिनको ठूलो समय पानी बोकेर बिताउँछन्। कतिपय परिवारमा बिहान र साँझ पानी ल्याउने जिम्मेवारी बालबालिकाकै काँधमा छ। पूर्वशिक्षक धामीका अनुसार पानीको जोहो गर्नुपर्ने बाध्यताले उनीहरूको पढाइ प्रभावित हुने गरेको छ। कतिपय अवस्थामा विद्यार्थीहरू नियमित विद्यालय जानसमेत सक्दैनन्।

अर्का स्थानीय तिलकसिंह धामी भन्छन्, “पानी नभएपछि खाना पकाउन, पशु चौपाया पाल्न र दैनिक काम चलाउनै सकिँदैन।” गाउँ नजिक भरपर्दो मुहान नहुँदा हिउँदयाममा समस्या अझ विकराल बन्ने गरेको उनले बताए। त्यसबेला स्थानीयले खच्चडमार्फत ड्रममा पानी ढुवानी गर्नुपर्ने बाध्यता छ।

वडा सचिव खगेन्द्रसिंह धामीका अनुसार अधिकांश परिवारले पानी सञ्चयका लागि घरघरमा ठूला ड्रम राखेका छन्। “हिउँद लागेपछि गाउँमा पानीको काकाकुल अवस्था हुन्छ,” उनले भने, “त्यसैले धेरैले पानी भण्डारण गरेर राख्न घरघरमा ड्रम, जरकिन धेरै राख्ने गरेका छन्।”

खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष पुष्करसिंह धामीका अनुसार योजना ढिलो हुनुको मुख्य समस्या भनेकै बजेट पनि हो। आर्थिक वर्ष २०७९/८० मा रु १५ लाख, २०८०/८१ मा रु २५ लाख र २०८२/८३ मा रु २५ लाख बजेट विनियोजन भएको छ। चालु आर्थिक वर्षमा ट्याङ्कीको ढोका निर्माण तथा सिराडसम्म ९५ वटा पिलर निर्माणको काम भइरहेको छ।

“बजेट सानो–सानो आउँदा कामले गति लिन सकेको छैन,” उनले भने, “अर्कोतर्फ समयमै मजदुर पाइँदैनन्। पाइएका मजदुर पनि सरकारी ज्यालामा काम गर्न तयार हुँदैनन्। अहिले आफैँ मिस्त्री भएर काम गर्दा थोरै काम गराउन सकिएको छ।” गाउँमा योजनाको काम गराउनु निकै चुनौतीपूर्ण भएको, एकैपटक ठूलो बजेट हालेर योजनासम्पन्न गराउनतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिए।

मालिकार्जुन गाउँपालिका अध्यक्ष हीरासिंह धामी खानेपानी योजना सम्पन्न गर्न कार्यालयसँग नियमित बजेट माग गरिरहेको बताउँछन्। “हामीले पर्याप्त बजेट विनियोजन गर्न आग्रह गरेका छौँ,” अध्यक्ष धामीले भने, “नयाँ आर्थिक वर्षमा कति आउँछ आशा गरौँ।”

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार