जनकपुर-अयोध्या रेल खण्डमा यात्रु सेवा सञ्चालनको तयारीबारे छलफल भएको छ। काठमाडौंमा सम्पन्न परियोजना सञ्चालन समितिको १०औँ र संयुक्त कार्य समूहको आठौँ बैठकले सीमापार रेलमार्ग परियोजनाहरूको कार्यान्वयन र रेल क्षेत्रको द्विपक्षीय सहयोगको समीक्षा गरेको हो। जेठ २८ र २९ गते चलेको बैठकमा दुई देशका प्रतिनिधिहरूले भारत सरकारको अनुदान सहयोगमा निर्माणाधीन रेलमार्गहरूको प्रगतिबारे विस्तृत छलफल गरेका छन्।
बैठकमा जयनगर-बिजलपुरा-बर्दिबास र जोगबनी-विराटनगर ब्रोडगेज रेलमार्गको वर्तमान अवस्थाको समीक्षा गरियो। भारतीय दूतावासका अनुसार, जनकपुर-अयोध्या खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालन गर्ने विषयले बैठकमा प्राथमिकता पाएको छ। यसका लागि आवश्यक ‘मानक सञ्चालन कार्यविधि’ (एसओपी) बारे दुई पक्षबीच छलफल भएको छ।
यसैगरी, रक्सौल-काठमाडौं ब्रोडगेज रेलमार्गको ‘अन्तिम स्थान निर्धारण सर्वेक्षण’ (एफएलएस) प्रतिवेदन, पूर्व-पश्चिम रेलमार्गका लागि प्राविधिक सहयोग, र थप नयाँ रेलमार्गहरूको सम्पर्क विस्तार गर्ने विषयमा पनि बैठकमा कुराकानी भएको छ।
सीमापार रेल सञ्जाललाई थप मजबुत बनाउन दुवै देशका अधिकारीहरूले जोड दिएका छन्। रेल क्षेत्रको सहयोगलाई सुदृढ र प्रभावकारी बनाउन आगामी दिनमा पनि निकट समन्वय र सहकार्यलाई निरन्तरता दिने विषयमा दुवै पक्ष सहमत भएका छन्।
