नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावले सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले यो जानकारी दिएको छ।
हाल गण्डकी प्रदेशका धेरै स्थानमा र कोशी तथा बागमती प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बदलीको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानहरूमा, मधेस प्रदेशका तराई क्षेत्रमा, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिनको अनुभव हुने सम्भावना छ। मधेस प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरी चल्ने अनुमान गरिएको छ।
आज राति कोशी र मधेस प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
