प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिमा सरकारको नीति तथा कार्यक्रममाथिको प्रतिनिधिसभा बैठक विपक्षीको अवरोधले पहिलोपटक स्थगित भएको छ।
विपक्षी दलहरूले सरकारका नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री शाह स्वयं उपस्थित भई जवाफ दिनुपर्ने अडान राखेका थिए। सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रस्ताव पेस गर्न समय दिएपछि विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए।
विपक्षीको विरोधपछि रोष्ट्रममा पुगेका मन्त्री वाग्ले फिर्ता भएका थिए। त्यसअघि संसद्मा झण्डै एक घण्टा विपक्षी दलका सांसदले अवरोध गरेका थिए।
नेकपाका सचेतक युवराज दुलालले संसद्ले प्रधानमन्त्रीको आवाज सुन्न चाहेकाले बालेन्द्र शाहले नै प्रस्ताव पेस गर्नुपर्ने बताए। यस्तै, एमाले उपाध्यक्ष गुरू बरालले प्रधानमन्त्री के कारणले संसद्मा उपस्थित हुन नसकेको भन्ने जवाफ चाहिने माग गरे।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले संसद्मा विरोध जनाएका थिए। विपक्षीको विरोधपछि प्रतिनिधि सभा बैठक बुधबार दिउँसो सवा १ बजे १५ मिनेटका लागि स्थगित भएको सभामुख अर्यालले जानकारी दिए।
यसैबीच, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बैठक नै वहिस्कार गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेका छन्। उनले सत्तारुढ दलले संसद्लाई मनपरी ढंगले सञ्चालन गरिरहेको आरोप लगाए।
संसद भवन बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले प्रधानमन्त्री कहिल्यै संसदमा नआउने र आफूले टेबल गर्नुपर्ने विषय अरूलाई पठाउने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘हामीले संसद बैठक बहिष्कार गरेका हौँ। प्रधानमन्त्री कहिले पनि नआउने, प्रधानमन्त्रीले टेबल गर्नुपर्ने विषय अरूलाई पठाउने भइरहेको छ। सत्तारुढ दलले संसद मनखुशी चलाइरहेको छ।’
अध्यक्ष साम्पाङले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका लागि पर्याप्त समय नदिएको र प्रभावकारी बहस हुनुपर्ने विषयलाई औपचारिकतामा सीमित गरिएको गुनासो गरे। उनले आफ्नो पार्टी संसदमा सशक्त रूपमा प्रस्तुत हुने दाबीसमेत गरे।
