पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका गतिविधि विपन्न नागरिक र राष्ट्रिय स्वाधीनताविरुद्ध उन्मुख रहेको आरोप लगाएका छन्। उनले यो स्थितिको प्रतिरोधका लागि वामपन्थी शक्तिबीच कार्यगत सहकार्य अपरिहार्य रहेको बताए।
सोमबार काठमाडौंमा आयोजित २४औँ बोत्ले स्मृति दिवस कार्यक्रममा बोल्दै दाहालले साझा मुद्दामा वामपन्थी शक्तिहरूबीच सहकार्य आजको आवश्यकता भएको धारणा राखे। उनले कार्यगत एकतालाई पार्टी एकतासँग जोडेर अनावश्यक भ्रम फैलाइएको टिप्पणी गर्दै साझा एजेन्डामा सहकार्य हुँदैमा पार्टी एकता नहुने स्पष्ट पारे।
दाहालका अनुसार कार्यगत एकता भनेको निश्चित मुद्दा र उद्देश्यका आधारमा गरिने सहकार्य हो। यसलाई पार्टी एकतासँग जोडेर गलत प्रचार गर्नु उपयुक्त नहुने उनको भनाइ छ।
उनले दीर्घकालीन वामपन्थी एकताका लागि भने विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना, सिद्धान्त तथा साझा समझदारीमा पर्याप्त तयारी आवश्यक पर्ने उल्लेख गरे। त्यसपछि मात्र पार्टी एकताको आधार तयार हुने उनको भनाइ छ।
