वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला सभापतिमा सांसद हरि पन्तको प्यानल विजयी भएको छ। तीन सांसदको गठबन्धनलाई भत्काउँदै संस्थापन पक्षका पन्त प्यानलले जीत हासिल गरेको हो।
मंगलबार सम्पन्न मतपरिणाम अनुसार जिल्लाका तीन सांसदहरू रामाकान्त चौरसिया, टेकबहादुर शाक्य र सुशील कानुको गठबन्धनलाई तोड्दै कार्यसमितिमा सांसद पन्तको प्यानल विजयी भएको हो।
सांसद पन्तले निकटतम प्रतिद्वन्द्वीभन्दा ४८ मत बढी ल्याए। रास्वपा निर्वाचन समिति संयोजक नन्दन यादवले यो जानकारी दिए।
निकटतम प्रतिद्वन्द्वी सांसद सुशीलकुमार कानुले ११८ मत पाए। पन्तले १६६ मत प्राप्त गरे। उपसभापतिमा पन्त प्यानलकै दिलीपकुमार कुर्मी विजयी भए। कुर्मीले निकटतम प्रतिद्वन्द्वी रंदीप श्रीवास्तवलाई ४८ मतले हराए। श्रीवास्तवले ११४ मत पाएका थिए। कुर्मीले १६२ मत प्राप्त गरे।
सचिवमा सुदिशकुमार प्रजापति विजयी भए। उनले निकटतम प्रतिद्वन्द्वी शिवकुमार साहलाई ४४ मतले पछि पारे। सहसचिवमा कृष्णा पासवान विजयी भए। उनले प्रतिस्पर्धी नीरज कुमार साहलाई ३६ मतले हराए।
सदस्यहरूमा पन्त समूहकै तुलसा पौडेल अधिकारीले सबैभन्दा बढी लोकप्रिय मत पाइन्। अधिकारीले १६० मत प्राप्त गरिन्। पन्त समूहकै प्रियंका कुमारी कुर्मी, पूर्णबहादुर सापकोटा, कामोध्या चौधरी र शशीदेवी थरुनी पनि सदस्यमा विजयी भए।
