रौतहटको गरुडा नगरपालिका-९ श्रीपुरका वडाध्यक्ष पदका प्रत्याशी शेख हुस्नैन पक्राउ परेका छन्। प्रहरीको नाममा थुनुवालाई छुटाइदिने भन्दै १ लाख रुपैयाँ ठगी गरेको आरोप उनीमाथि छ। प्रहरीले ठगी कसुरमा अनुसन्धान अघि बढाएको छ।
केही दिनअघि श्रीपुरमा भएको झगडामा प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा रामजन मियाँ पक्राउ परेका थिए। हुस्नैनले रामजनकी श्रीमतीलाई मुद्दा मिलाइदिने र थुनुवालाई छुटाउने आश्वासन दिए। उनले सोही क्रममा एक लाख रुपैयाँ लिएको प्रहरीको दाबी छ।
रकम बुझाउँदा पनि रामजन रिहा नभएपछि उनकी श्रीमतीले इलाका प्रहरी कार्यालय गरुडामा ठगीको जाहेरी दर्ता गराइन्। सोही जाहेरीका आधारमा हुस्नैनलाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकरप्रसाद आचार्यले प्रहरीको नाममा रकम असुली गम्भीर विषय भएको बताए। उनले जिल्ला अदालत गौरबाट म्याद लिएर अनुसन्धान भइरहेको जानकारी दिए।
यसै घटनामा गरुडा-९ का वर्तमान वडाध्यक्ष राजेश सहनीविरुद्ध पनि थुनुवा छुटाउने भन्दै रकम असुली गरेको आरोपमा जाहेरी परेको छ। प्रहरी नायब उपरीक्षक आचार्यले सहनीमाथिको आरोपबारे पनि अनुसन्धान भइरहेको बताए।
सहनीले भने आफूले रामजनलाई छुटाउन कसैसँग रकम नलिएको दाबी गर्दै आरोप अस्वीकार गरेका छन्। हुस्नैन इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा छन्। घटनामा अन्य व्यक्तिको संलग्नताको पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।
