वीरगञ्जको सूर्य अस्पतालमा उपचारका क्रममा चरम लापरवाही भएको भन्दै बिरामीका आफन्तले प्रदर्शन गरेका छन्। अस्पतालले गलत औषधि प्रयोग गर्दा एक सुत्केरी महिलाको दुवै मिर्गौला फेल भएको आरोप लगाउँदै आफन्तले अस्पताललाई ‘हत्यारा अस्पताल’ को संज्ञा दिएका छन्।
जमुनामाई गाउँपालिका–४, सर्वठाकी २७ वर्षीया गुन्जा सिंह सुत्केरी हुनका लागि सूर्य अस्पतालमा भर्ना भएकी थिइन्। सुत्केरी भएपश्चात् अस्पतालले प्रयोग गरेको गलत औषधिका कारण उनको दुवै मिर्गौलामा गम्भीर समस्या आएको आफन्तको दाबी छ।
बिरामीका पति बिस्वन्त सिंहसहित आफन्तहरूले अस्पताल परिसरमा चर्को नाराबाजी गर्दै तत्काल निष्पक्ष छानबिन, बिरामीको सम्पूर्ण उपचारको ग्यारेन्टी र दोषीमाथि कारबाहीको माग गरेका छन्। यस घटनाले अस्पतालको विश्वसनीयतामाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ।
यसअघि अस्पतालकी सञ्चालक डा. मोनिका सिंहले सत्यतथ्य बुझ्न खोज्ने सञ्चारकर्मीमाथि समेत दादागिरी देखाएको आरोप छ। पत्रकार आबिदलाई फोनमार्फत अश्लील गालीगलौज र धम्की दिएको आरोपमा उनी विवादमा तानिएकी थिइन्। सामाजिक सञ्जालमा डा. सिंहको व्यवहारलाई ‘कु-संस्कारी’ र ‘नश्लिय चरित्र’ भन्दै आलोचना भएको थियो।
एकातर्फ गम्भीर चिकित्सकीय लापरवाही र अर्कोतर्फ पत्रकारलाई धम्क्याउने व्यवहारले सूर्य अस्पताल सेवामुखी नभई व्यापार र दादागिरीको अखडा बनेको प्रस्ट भएको छ। स्थानीय प्रशासन, नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयले तत्काल छानबिन गरी कारबाही गर्नुपर्ने माग उठेको छ।
