काठमाडौंमा कान्तिपुर गेटअघि पार्क गरिएको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता रवि जयसवालको भएको खुलेको छ। सोमबार बिहान पाँच स्थानमा शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएपछि सुरक्षा निकायको ध्यानाकर्षण भएको थियो।
कान्तिपुरको गेटअघि पार्क गरिएको बा प्रदेश ०१–०३४ च ८४८० नम्बरको गाडी रवि जयसवालले चलाउने गरेको अनुसन्धानमा खुलेको छ। जयसवाल रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका पूर्व सदस्य हुन्। उनी रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि जयसवालका कान्छा छोरा हुन्। जयसवालले आफूले गाडी साथीलाई चलाउन दिएको र आफू भने नगरकोटमा रहेको बताएका छन्।
यस्तै, अनलाइनखबरको गेटअगाडि पार्क गरिएको बा१२च ८५४५ नम्बरको गाडी सुनील पौडेलको नाममा दर्ता रहेको भेटिएको छ। पौडेलले गाडी भाइलाई चलाउन दिएको बताएपछि सम्पर्कमा आएका सुजन पौडेलले आफूले नै गाडी पार्क गरेको स्वीकार गरेका छन्। उनले सञ्चारमाध्यमले घटनालाई अनावश्यक रूपमा शंकास्पद बनाएको प्रतिक्रिया दिएका छन्।
हिमालयन टेलिभिजनअगाडि पार्क गरिएको बा१०च १२५५ नम्बरको गाडी डिआर अटोमोटिभ्स, धुम्बाराहीको नाममा दर्ता भएको खुलेको छ। अनामनगरस्थित भाटभटेनी सुपरमार्केटअगाडि राखिएको गाडीको स्वामित्वबारे भने प्रहरीले अनुसन्धान जारी राखेको छ।
घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले सबै स्थानमा टोली परिचालन गरी गाडीमा विस्फोटक पदार्थ वा अन्य शंकास्पद वस्तु भए–नभएको परीक्षण गरेको थियो। प्रारम्भिक जाँचमा कुनै सुरक्षा जोखिम नदेखिएपछि सबै गाडी क्रेनमार्फत ट्राफिक प्रहरीको नियन्त्रणमा लगिएको प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताएका छन्।
यसैबीच, प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा पनि यो विषय उठेको छ। सांसदहरूले मिडिया हाउसका गेटमा शंकास्पद पार्किङको विषय उठाएका हुन्। समिति सभापति समिक्षा बास्कोटाले यस घटनाप्रति समितिको ध्यानाकर्षण भएको र सरकारलाई यसको गम्भीर अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गरिएको बताइन्। सञ्चार माध्यमलाई त्रसित बनाउने कार्य स्वीकार्य नहुने भन्दै बास्कोटाले घटनाको गम्भीर अनुसन्धान र कारबाही माग गरिन्।
