जिल्ला अदालत ललितपुरले टिकटकर तुलसा भन्ने तुल्सी अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो।
अदालतले थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रतिवादीलाई हुनसक्ने सजाय समेतलाई दृष्टिगत गर्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७(१) बमोजिम थुनामा राख्न थुनुवा पुर्जी दिइ सम्बन्धित कारागार कार्यालयमा पठाउन आदेश दिएको छ।
अधिकारीलाई एक व्यवसायीलाई ‘हनिट्रयाप’मा पारी करोडौं असुल गरेको आरोपमा आपराधिक लाभ, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाइएको थियो। इन्टरपोलको सहयोगमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएकी अधिकारीविरुद्ध गत चैतमा मुद्दा दर्ता भएको थियो।
नवलपरासी पश्चिम घर भई हाल ललितपुरको भैँसेपाटी बस्दै आएकी अधिकारीले एक व्यवसायीबाट रु छ करोड ५२ लाख २९ हजार ७५ असुल गरेको अभियोग छ। इन्टरपोलले २०८२ चैत ३ गते रेड नोटिस जारी गरेको थियो। ती व्यवसायीले प्रहरी वृत्त सातदोबाटोमा जाहेरी दिएका थिए।
मुद्दामा तुलसी अधिकारीसहित नौ जना र एउटा पसललाई प्रतिवादी बनाइएको छ। प्रतिवादीहरूमा तुलसा कलेक्सन, भारतका मुकेशकुमार धानुका, पोखराकी नेलिका लामिछाने, तेह्रथुमकी दिलुकुमारी लिम्बू, पाल्पाका प्रयास पोखरेल, सल्यानकी सपना वली, नवलपरासीकी गङ्गा अधिकारी सुवेदी, पाल्पाका मेघनाथ बस्याल र सिरहाका अशोककुमार अग्रवाल रहेका छन्।
प्रहरी अनुसन्धानका क्रममा अधिकारीको व्यक्तिगत खाताबाट १५ करोड रुपैयाँको कारोबार भएको भेटिएको थियो। उनको वैदेशिक भ्रमण, दैनिक खर्च र बैंकिङ कारोबारलाई समर्थित गर्ने कुनै वैधानिक स्रोत नभेटिएको भन्दै अख्तियारले आपराधिक लाभबाट सम्पत्ति शुद्धीकरण गरी २१ करोड १२ लाख रुपैयाँ आर्जन गरेको आरोप लगाएको छ। प्रहरीले उनको बैंक लकरबाट साढे ८४ लाख बराबरको सुनको गहना पनि बरामद गरेको थियो।
अदालतमा बयानका क्रममा अधिकारीले आफ्नो सम्पत्तिको आयस्रोत आफ्नो कम्पनी र त्यसको व्यापारिक कारोबार रहेको दाबी गरेकी थिइन्। तर, अदालतले पेश भएका प्रमाण, बैंक खाता र कारोबारका आधारमा उनलाई कसुरदार होइन भन्न नमिल्ने निष्कर्ष निकालेको हो।
अधिकारीलाई जगन्नाथदेवल कारागार पठाइएको छ। अदालतको आदेशविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिन सक्छिन्।
