दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजारको मृत्यु हुने गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् २०१८ मा पारित गरेको प्रस्तावअनुसार सन् २०१९ देखि हरेक वर्ष जुन ७ मा विश्व खाद्य सुरक्षा दिवस मनाउन थालिएको हो । डब्ल्युएचओ र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले दिवसको प्रवद्र्धन र समन्वय गर्छन् ।
सुरक्षित र पोषणयुक्त खाद्यवस्तुमा पहुँच मानव स्वास्थ्य र कल्याणका लागि अपरिहार्य छ । दूषित खाना वा पानीमा पाइने ब्याक्टेरिया, भाइरस, परजीवी वा रासायनिक पदार्थले विभिन्न खाद्यजन्य रोग फैलाउँछन् । यी जोखिम नाङ्गो आँखाले नदेखिने भएकाले खाद्य सुरक्षा चुनौतीपूर्ण बनेको छ ।
पाँच वर्षमुनिका बालबालिकाले खाद्यजन्य रोगको कुल भारको करिब ४० प्रतिशत ओगट्छन् । यस्ता रोगबाट हरेक वर्ष करिब एक लाख २५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । खाद्यजन्य रोगले महिला, बालबालिका, द्वन्द्व प्रभावित समुदाय, आप्रवासी र कमजोर वर्गलाई असमान रूपमा असर गर्छ ।
विशेषज्ञहरू खाद्य सुरक्षालाई उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण शृङ्खलासँग जोडिएको विषय मान्छन् । उत्पादन, सङ्कलन, प्रशोधन, भण्डारण, ढुवानी, वितरण, तयारी र उपभोगका हरेक चरणमा सुरक्षा मापदण्ड पालना गरेमा खाद्यजन्य रोगको जोखिम घटाउन सकिन्छ ।
यस दिवसले खाद्य सुरक्षालाई प्रभावकारी नियमन प्रणाली, स्वच्छ खानेपानी, असल कृषि अभ्यास, खाद्य सुरक्षा व्यवस्थापन प्रणाली र उपभोक्ता सचेतनासँग जोडेर हेर्नुपर्नेमा जोड दिएको छ । सरकार, उत्पादक, व्यवसायी, वैज्ञानिक, नागरिक समाज र उपभोक्ताको साझा प्रयासबाट मात्र सुरक्षित खाद्यवस्तुको सुनिश्चितता सम्भव छ । ‘खाद्य सुरक्षा सबैको जिम्मेवारी’ भन्ने नारासहित मनाइने यो दिवसले खाद्य सुरक्षा, जनस्वास्थ्य, कृषि, व्यापार, पर्यटन र दिगो विकासबीचको सम्बन्धलाई उजागर गर्दै सुरक्षित खाद्यवस्तुका लागि सबै पक्षलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।
