काठमाडौं । प्रतिनिधिसभा सांसदहरूले हुम्ला र बाजुराको सीमा विवादले अवरुद्ध कर्णाली राजमार्ग तत्काल खुलाउन सरकारसँग माग गरेका छन्। विवादले बिरामी, विद्यार्थी र अत्यावश्यक यात्रा गर्ने नागरिक प्रभावित भएका छन्।
बिहीबारको बैठकमा सांसद जयपति रोकायाले वार्ता र संवादबाट विवाद समाधान गरी राजमार्ग खुलाउनुपर्ने बताए। उनले सीमा विवादले राष्ट्रिय राजमार्ग अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको उल्लेख गरे।
सांसद केपी खनालले रानीसैन क्षेत्रको सीमा विवादमा धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालसहितको टोलीमाथि भएको दुव्र्यवहारको भत्र्सना गरे। उनले हिमाली गाउँपालिकाको साइपाल क्षेत्रमा जडीबुटी र वन्यजन्तुको अवैध तस्करी नियन्त्रण गर्न खोज्दा जनप्रतिनिधि र कर्मचारीमाथि आक्रमण भएको घटनाप्रति ध्यानाकर्षण गराए। खनालले नागरिक सुरक्षा, जडीबुटी संरक्षण र घाइतेको उपचारको माग गरे।
सांसद जनकराज गिरीले जेठ ४ गते हुम्ला र बाजुराको हिमाली गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक महेश धामी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापालगायतलाई भएको साङ्घातिक आक्रमणको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे।
सांसद वासना थापाले दैलेखको गुराँस गाउँपालिका–७ मा करेन्ट लागेर गणेश थापा गम्भीर घाइते भएको घटनाप्रति नेपाल विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराइन्। सांसद शोभा खनालले गोरखाका केही स्थानीय तहमा विद्युत् आपूर्ति समस्या रहेको भन्दै प्राधिकरणको ध्यानाकर्षण गराइन्।
