नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुनसरीको लौकहीमा आयोजना गरेको दुई दिने प्रदेश तथा स्थानीय तह केन्द्रित परामर्श कार्यशालाले २८ बुँदे ‘कोशी संकल्प’ जारी गर्दै सम्पन्न भएको छ। ‘ऊर्जा र विश्वासको नवीन अभियान’ नाराका साथ जेष्ठ ८ र ९ गते आयोजित कार्यशालामा पार्टीका शीर्ष नेतृत्व, कोशी प्रदेशका जनप्रतिनिधि र विभिन्न तहका पदाधिकारीहरूको सहभागिता थियो।
कार्यशालालाई सम्बोधन गर्दै कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे लगायतले संगठन सुदृढीकरण र जनमुखी सरकार सञ्चालनका लागि निर्देशन दिएका थिए। कार्यक्रममा कोशी प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू लगायतको उपस्थिति रहेको थियो।
कार्यशालामा कोशी प्रदेशको स्थानीय पहिचान र विशिष्टताका आधारमा सहभागीहरूलाई छ वटा विषयगत समूहमा विभाजन गरी नीतिगत र व्यावहारिक विषयहरूमा छलफल गरिएको थियो। समूहहरूले प्रदेश सरकारको आन्तरिक व्यवस्थापन, सुशासन, बजेट, आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार निर्माण र पार्टी एवं स्थानीय सरकारबीचको समन्वयका विषयमा बहस गरेका थिए।
२८ बुँदे ‘कोशी संकल्प’ मा विशेष गरी स्थानीय सरकारलाई उत्तरदायी बनाउने र पार्टी तथा जनप्रतिनिधिबीचको सम्बन्धलाई प्रभावकारी बनाउने विषयलाई उच्च प्राथमिकता दिइएको छ। कांग्रेसले लाइन होइन अनलाइन र घर–आँगनमा सेवाको अवधारणामा आधारित रहेर जनतालाई सेवा प्रवाह गर्ने घोषणा गरेको छ। यसअन्तर्गत जन्मदर्ता, स्वास्थ्य बीमा र ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच नागरिकको घरदैलोमै पु¥याउने प्रतिबद्धता जनाइएको छ।
त्यस्तै, वित्तीय अनुशासन कायम गर्न शून्य बेरुजु स्थानीय तह निर्माण गर्ने र असार १० भित्र अनिवार्य बजेट ल्याउने कुरालाई कडाइका साथ पालना गर्ने संकल्प गरिएको छ। योजना बैंकमार्फत मात्र योजना तर्जुमा गर्ने र अनुत्पादक क्षेत्रमा लगानी नगर्ने कुरामा दृढ रहने संकल्पमा उल्लेख छ।
विकासका रणनीतिक योजनाहरूमा कोशी राजमार्ग (जोगबनी–किमाथाङ्का) लाई चाँडो सम्पन्न गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्ने र विराटनगर–इटहरी कोरिडोरलाई विशेष आर्थिक क्षेत्रका रूपमा सञ्चालन गर्ने विषय समेटिएका छन्। पर्यटनतर्फ वराहक्षेत्र, पाथीभरा र हलेसीलाई जोडेर ‘आध्यात्मिक पर्यटन पथ’ निर्माण गर्ने लक्ष्य राखिएको छ।
सामाजिक सुरक्षाका क्षेत्रमा कांग्रेसले ‘कोखदेखि शोकसम्म’ को एकीकृत सामाजिक सुरक्षा कार्यक्रम र महिलाको सीपलाई उद्यममा बदल्न उद्यमी आमा कार्यक्रम अघि सारेको छ। प्रदेशको नामाकरणपछि उत्पन्न भएका असन्तुष्टि र भावनाहरूलाई सर्वपक्षीय खुला संवादमार्फत सम्बोधन गर्ने प्रतिबद्धता समेत कांग्रेसले जनाएको छ।
पार्टी संगठन सुदृढीकरणका लागि ‘जरा अभियान’ लाई तीव्रता दिने र जनप्रतिनिधि तथा पार्टीबीच हरेक महिना नियमित संवाद गर्ने संयन्त्र बनाउने संकल्प गरिएको छ। बाढी, पहिरो र भू–क्षय नियन्त्रणका लागि पूर्व सूचना प्रणाली र युवा उद्धारकर्ताको टोली तयार गर्दै विपद् उत्थानशील समुदायको विकास गर्ने पनि संकल्प गरिएको छ।
