मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब साढे १२ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा ज्योति गुरुङविरुद्ध ललितपुर जिल्ला अदालतले २१ दिने सार्वजनिक सूचना जारी गरेको छ। नेपाली कांग्रेसका नेता धनराज गुरुङकी पूर्वपत्नीसमेत रहेकी गुरुङलाई सबुत प्रमाणसहित अदालतमा उपस्थित भई प्रतिउत्तर पेश गर्न आदेश दिइएको हो।
सहकारीको रकम हिनामिना गरी फरार रहेको आरोपमा गुरुङविरुद्ध यसअघि नै इन्टरपोलमार्फत ‘रेड नोटिस’ समेत जारी भइसकेको छ। अदालतले सोमबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै बाटोको म्यादबाहेक २१ दिनभित्र आफैँ वा प्रतिनिधिमार्फत उपस्थित हुन भनेको छ।
तोकिएको समयभित्र उपस्थित नभएमा कानुनबमोजिम मुद्दा अघि बढ्ने र त्यसपछि कुनै उजुर नलाग्ने अदालतले स्पष्ट पारेको छ। अदालतले जारी गरेको सूचनामा गुरुङको तीनपुस्ते विवरण उल्लेख गरिएको छ, जसमा उनका पति धनराज गुरुङको नाम पनि समावेश छ।
मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १०५ को उपदफा (२२) बमोजिम यो म्याद सूचना प्रकाशित गरिएको हो। जरजेल मुद्दामा बोध बिक्रम थापाले गुरुङविरुद्ध लेनदेन मुद्दा दायर गरेका थिए।
