NM Khabar 26 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

घुस प्रकरणमा बयान फेर्ने तीन सरकारी साक्षीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

घुस प्रकरणमा अदालतमा बयान फेर्ने तीन सरकारी साक्षीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ। विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठले अनुसन्धानमा दिएको बयान विपरीत बकपत्र गरेको पुष्टि भएको छ। उनीहरूले कुल ९३ हजार ८५० रुपैयाँ घुस दिएको अख्तियारको दाबी छ।
Arjun Basnet
Arjun Basnet
26 May 2026, 2:32 pm १ मिनेट पढाइ
आकार:
Share:

घुस/रिसवत मुद्दामा बयान फेरेका तीन सरकारी साक्षीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालत काठमाडौंमा विचाराधीन मुद्दामा अनुसन्धानका क्रममा दिएको बयानविपरीत अदालतमा बकपत्र गरेको भन्दै आयोगले विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध मंगलबार आरोपपत्र दायर गरेको हो।

प्रतिवादी ढुण्डिराज दाहाल रहेको भ्रष्टाचार मुद्दामा ती तीन जनालाई अनुसन्धानमा सहयोग गरेको आधारमा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो। आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार उनीहरूले गत वैशाख २५ गते विशेष अदालतमा उपस्थित भएर अनुसन्धान अधिकृतसमक्ष दिएको बयानविपरीत बकपत्र गरेको पुष्टि भएको थियो।

त्यसपछि पुनः अनुसन्धान गरी उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ। भुक्तानी प्रक्रिया सहज बनाउन विप्लव पोख्रेलले आरएसभी मेटलको तर्फबाट २७ हजार ३५० रुपैयाँ र अभियान्ता नेपालको तर्फबाट २९ हजार रुपैयाँ घुस दिएको पुष्टि भएको छ।

प्रल्हाद गौतमले शुभश्री टेक्नोलोजिज लगायतको तर्फबाट ३७ हजार ५०० रुपैयाँ घुस दिएका थिए। राजेश श्रेष्ठले विप्लव पोख्रेलमार्फत २७ हजार ३५० रुपैयाँ घुस दिएको अख्तियारको दाबी छ। तीन जनाले दिएको कुल घुस रकम ९३ हजार ८५० रुपैयाँ रहेको छ।

अख्तियारले उनीहरूको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(३) अनुसारको कसुर भएको उल्लेख गरेको छ। आयोगले बिगो बराबरको सजाय मागदाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार