मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

पौवादुङमाका ३४० किसानलाई ५०% अनुदानमा हाते ट्याक्टर वितरण

भोजपुरको पौवादुङमा गाउँपालिकाले ३४० किसानलाई ५०% लागत साझेदारीमा हाते ट्याक्टर वितरण कार्यक्रम सुरु गरेको छ। यस कार्यक्रमको उद्देश्य कृषि यान्त्रिकीकरण प्रवर्द्धन गरी उत्पादन र उत्पादकत्व बढाउनु हो। किसानहरूले यसबाट खेती कार्यमा लाग्ने समय र श्रम घट्ने तथा उत्पादन बढ्ने आशा व्यक्त गरेका छन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
१७५

भोजपुरको पौवादुङमा गाउँपालिकाले तीन सयभन्दा बढी किसानलाई हाते ट्याक्टर (मिनीटिलर) वितरण कार्यक्रम सुरु गरेको छ। यस कार्यक्रमको मुख्य लक्ष्य कृषिमा यान्त्रिकीकरण प्रवर्द्धन गर्नु हो।

पहिलो चरणमा १७० हाते ट्याक्टर वितरण गरिएको छ। बाँकी किसानलाई क्रमशः उपलब्ध गराइनेछ। गाउँपालिकाले कुल ३४० किसानलाई ५० प्रतिशत लागत साझेदारीमा हाते ट्याक्टर उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। परम्परागत खेती प्रणालीलाई आधुनिकीकरणतर्फ रूपान्तरण गर्न यो कार्यक्रम प्रभावकारी बन्ने उनको भनाइ छ।

“किसानलाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्दै उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेका हौँ”, भट्टराईले भने, “यसले किसानलाई व्यावसायिक खेती प्रणालीमा लाग्न प्रोत्साहन गर्छ भन्ने हाम्रो अपेक्षा हो।”

गाउँपालिका अध्यक्ष किरण राईले कृषिलाई स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको बताए। विगत वर्षदेखि नै कृषि क्षेत्रमा विभिन्न अनुदान तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ। किसानमा व्यावसायिक सोचको विकास गराउन गाउँपालिकाले कृषिमा जोड दिएको छ। “हामीले किसानको वास्तविक मागका आधारमा कार्यक्रम ल्याएका छौँ”, अध्यक्ष राईले भने, “यान्त्रिकीकरणमार्फत खेतीलाई सहज, छिटो र उत्पादनमुखी बनाउने लक्ष्य राखेका छौँ।”

किसानलाई आत्मनिर्भर बनाउनुका साथै स्थानीयस्तरमै रोजगारी सृजना गर्ने उद्देश्यले कृषि क्षेत्रमा लगानी विस्तार गरिएको उपाध्यक्ष ज्योत्सना राईले बताइन्। उनले वितरण गरिएका सामग्रीको प्रभावकारी उपयोग सुनिश्चित गर्न नियमित अनुगमन र प्राविधिक सहायतामा जोड दिइने जानकारी दिइन्। “सामग्री वितरण मात्रै होइन, त्यसको सही प्रयोग र दिगो प्रभाव सुनिश्चित गर्नु पनि हाम्रो दायित्व हो”, उनले भनिन्।

स्थानीय किसानले कार्यक्रमबाट सकारात्मक प्रभाव परेको बताएका छन्। किसान प्रेमबहादुर कार्कीले हाते ट्याक्टर प्रयोगले खेतबारी जोत्न, गोडमेल गर्न र अन्य कृषि कार्यमा लाग्ने समय तथा श्रम घटाउने बताए। “कयौँ दिन लाग्ने काम अहिले केही घण्टामै सकिन्छ”, उनले भने, “यसले खेती गर्न उत्साह थपेको छ। उत्पादन बढाउने आशा पनि जगाएको छ।”

गाउँपालिकाले कृषिमा आधुनिक प्रविधि भित्र्याउँदै, उत्पादन लागत घटाउने तथा उत्पादकत्व बढाउने दीर्घकालीन लक्ष्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ। कृषि उद्यमशीलता विकास गर्दै युवालाई कृषिमा आकर्षित गर्ने योजनाअनुसार गाउँपालिकाले किसानलक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ। स्थानीय उत्पादनलाई बजारसँग जोड्नका लागि गाउँपालिकाले यसअघि कृषि एम्बुलेन्ससमेत खरिद गरेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार