मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेशसभामा आजदेखि विस्तृत छलफल सुरु भएको छ। प्रदेशसभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा यसमाथिको सैद्धान्तिक छलफल प्रारम्भ गरिनेछ।
प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले जेठ १५ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकतामा राखेको छ। २७ पृष्ठ लामो दस्ताबेजमा कृषि उत्पादन वृद्धि, माटोको स्वास्थ्य सुधार, स्थानीय उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना र शिक्षा क्षेत्रको सुधारलाई जोड दिइएको छ।
कृषि क्षेत्रको विकासका लागि ‘मेड इन मधेस, समृद्ध प्रदेश’ र ‘किसानको शान, मधेसको मखान, कृषिको मुख्य आधार, माटोको स्वास्थ्य सुधार’ जस्ता नाराहरू समावेश छन्। रोजगारी सिर्जनाका लागि ‘आफ्नै प्रदेश, आफ्नै रोजगारी’ र शिक्षाका लागि ‘अप्पण बच्चाके स्कूल पठाऊ, साक्षरता के दीप जलाऊ’ जस्ता नारालाई प्राथमिकता दिइएको छ।
प्रदेशसभामा छलफल सकिएपछि प्राप्त सुझावका आधारमा नीति तथा कार्यक्रमलाई संशोधनसहित पारित गरिनेछ। यसपछि प्रदेश सरकारले असार १ गते आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेट सार्वजनिक गर्ने तयारी गरेको छ।
