NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रवि लामिछानेको भारत भ्रमण: नयाँ शक्तिको उदयप्रतिको कूटनीतिक रुचि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणले नयाँ राजनीतिक समीकरणको संकेत दिएको छ। कुनै सरकारी पदमा नरहे पनि दिल्लीमा उनले पाएको उच्चस्तरीय स्वागतले भारतको कूटनीतिक रुचि दर्शाएको छ। यो भ्रमणलाई नेपालको बदलिँदो जनमत र भविष्यको सम्भावित शक्तिकेन्द्रसँग सम्बन्ध विस्तारको रणनीतिका रूपमा हेरिएको छ।
Bikram Magar
Bikram Magar
3 June 2026, 5:47 pm १ मिनेट पढाइ
आकार:
Share:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणमा छन्। कुनै संवैधानिक वा सरकारी जिम्मेवारीमा नरहे पनि दिल्लीमा उनले पाएको उच्चस्तरीय स्वागत र भेटघाटले नेपालको राजनीतिमा तरंग ल्याएको छ।

उनलाई दिइएको ‘रेड कार्पेट’ सहितको सम्मानले लामिछानेलाई केवल एक दलको नेताका रूपमा मात्र नभई भारतले सम्भावित शक्तिकेन्द्रका रूपमा हेरेको प्रष्ट पार्छ। भाजपाका शीर्ष नेतृत्वबाट स्वागत पाएका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरे। प्रधानमन्त्री मोदीले लामिछानेसँगको भेटलाई प्राथमिकतामा राख्नुले नेपालभित्र राजनीतिक तरंग ल्याइदिएको छ।

मोदी र लामिछानेबीचको संवादले नेपालको नयाँ शक्तिको उदयलाई भारतले विशेष महत्त्व दिएको स्पष्ट पार्छ। यसअघि उनले भारतीय विदेशमन्त्री एस. जयशंकर र अन्य प्रभावशाली नेताहरूसँग भेटघाट गरिसकेका छन्। यी भेटघाटहरूले नेपालको आन्तरिक राजनीतिमा अबको निर्णायक शक्ति को हुन सक्छ भन्ने विषयमा दिल्लीको दृष्टिकोण फेरिएको आशंकालाई बल पुर्‍याएको छ।

कुनै देशको दलगत नेताले यस्तो स्तरको राजनीतिक पहुँच पाउनु असामान्य मानिन्छ। यो भ्रमणलाई केवल ‘शिष्टाचार भ्रमण’ का रूपमा हेर्न कठिन छ। भारतले नेपालका परम्परागत दलहरूसँग दशकौँदेखि सम्बन्ध राख्दै आएको छ। तर पछिल्लो समय उदाएको रास्वपा र नेता लामिछानेप्रति भारतले विशेष चासो देखाएको छ।

यसको पहिलो राजनीतिक अर्थ भारतले नेपालको बदलिँदो जनमत स्वीकार गर्न थालेको मान्न सकिन्छ। पछिल्लो निर्वाचनमा मतदाताले पुराना दलप्रति असन्तुष्टि जनाउँदै नयाँ शक्तिलाई अवसर दिएका थिए। रास्वपाले २०८२ को निर्वाचनमा १८२ सिटसहित देशकै शक्तिशाली दल बन्न पुग्यो। भारतले पनि भविष्यको सम्भावित शक्तिकेन्द्रसँग सम्बन्ध विस्तार गर्न खोज्नु स्वाभाविक रणनीति हो।

दोस्रो, यो भ्रमण नेपालभित्रको वर्तमान राजनीतिक परिस्थितिसँग जोडिएको छ। पछिल्ला महिनाहरूमा नेपाल-भारत सम्बन्धका संवेदनशील विषयहरू, विशेषगरी सीमा विवाद र कूटनीतिक अभिव्यक्तिहरू चर्चामा रहेका बेला लामिछानेको दिल्ली भ्रमण भएको छ। भारतले सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार गर्दै द्विपक्षीय संवादमार्फत समाधान खोज्नुपर्ने अडान दोहोर्‍याएको छ। यस्तै सन्दर्भमा नेपाली राजनीतिका नयाँ प्रभावशाली नेतासँग उच्चस्तरीय संवाद गर्नु भारतका लागि रणनीतिक महत्वको विषय हो।

अर्कोतर्फ, लामिछानेको भ्रमणलाई फरक अर्थ लगाउनु हतारो हुन सक्छ। भारतले दक्षिण एसियाली देशहरूका विभिन्न राजनीतिक दलहरूसँग ‘पार्टी–टु–पार्टी’ सम्बन्ध विस्तार गर्ने नीति अपनाउँदै आएको छ। भाजपा र रास्वपाबीचको सम्बन्ध स्थापना पनि त्यसैको निरन्तरता हुन सक्छ। दुवै पक्षले लोकतान्त्रिक अभ्यास, संगठन निर्माण, युवा नेतृत्व र द्विपक्षीय सम्बन्धमा छलफल भएको बताएका छन्।

सार्वजनिक छविको दृष्टिकोणबाट भ्रमण लामिछानेका लागि सफल देखिन्छ। नेपालमा हुने राजनीतिक आलोचना, विवाद र प्रतिस्पर्धाका बीच दिल्लीमा प्राप्त सम्मानले उनको अन्तर्राष्ट्रिय स्वीकार्यता बढाएको सन्देश समर्थकहरूलाई दिन सक्छ। युवा मतदाता र मध्यम वर्गबिच उनले आफूलाई राष्ट्रिय मात्र नभई क्षेत्रीय स्तरमा पनि संवाद गर्न सक्ने नेताका रूपमा प्रस्तुत गर्ने अवसर पाएका छन्।

यसले आलोचकहरूलाई प्रश्न उठाउने ठाउँ दिएको छ। भारतले किन यति धेरै महत्त्व दियो ? यो केवल राजनीतिक सम्बन्ध विस्तारको प्रयास हो वा भविष्यको नेपाली नेतृत्वसँग सम्बन्ध सुदृढ बनाउने रणनीति ? यस्ता प्रश्नहरू आगामी दिनमा बहसको विषय बन्नेछन्।

समग्रमा, रास्वपा सभापति लामिछानेको भारत भ्रमण केवल दलगत भ्रमण होइन। यसले दीर्घकालीन अर्थ बोकेको छ। भ्रमणपछि नेपाल–भारत सम्बन्ध, रास्वपाको विदेश नीति दृष्टिकोण तथा नेपालको आन्तरिक राजनीतिक समीकरणमा कस्तो असर पर्छ भन्ने कुरा आगामी महिनाहरूमा स्पष्ट हुनेछ। अहिलेका लागि एउटा कुरा निश्चित छ। दिल्लीले रविलाई केवल एक दलका नेता होइन, नेपालको राजनीतिमा निर्णायक भूमिका खेल्न सक्ने सम्भावित शक्तिका रूपमा हेर्न थालेको छ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार