कोरला नाका हुँदै भित्रिएका ७५० विद्युतीय सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। मुस्ताङदेखि कास्कीसम्मको सडकखण्डमा ती गाडीहरू नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका एक उच्च अधिकृतले बताए।
बजेट वक्तव्य सार्वजनिक हुनुअघि नै गाडीहरू नेपाल भित्रिएको सूचना पाएपछि सशस्त्र प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका गाडीहरू नम्बर प्लेटविहीन छन्। शंका लागेर नियन्त्रणमा लिएका यी गाडीहरूको कागजात भन्सार कार्यालयसँगको समन्वयमा जाँच गरिने अधिकृतले जानकारी दिए। ‘कागजात हेर्छौँ, त्रुटि नदेखिए फिर्ता गर्छौं, त्रुटि देखिएमा कानुन अनुसार कारबाही हुन्छ,’ उनले भने।
बजेट वक्तव्यमा करको दर हेरफेर हुने सूचना लिक भएपछि गाडी आयात गरिएको आशंका छ। हाल कास्की र पर्वत लगायतका स्थानमा सशस्त्र प्रहरीले गाडीहरू नियन्त्रणमा लिएर राखेको छ। सशस्त्रका एक उच्च अधिकृतका अनुसार नियन्त्रणमा लिइएका गाडीहरूमा बीवाईडी (BYD) लगायतका विद्युतीय सवारीसाधन छन्।
