राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमणको उद्देश्य आर्थिक समृद्धि बताए पनि नयाँ दिल्लीमा उनले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र विदेशमन्त्री डा. एस. जयशंकरसँग उच्चस्तरीय भेटवार्ता गरेका छन्।
‘नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न धेरै मानिसहरू आएका छन्, म यस पटक समृद्धिको ढोका खोल्न आएको हुँ,’ उनले भने। ‘समृद्ध नेपालको सपनालाई साकार पार्ने सहकार्यको एजेण्डा बोकेर यहाँ आएको छु। मेरा व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्।’
लामिछानेले भारतको छोटो समयको विकास र समृद्धिबाट नेपालले सिक्नुपर्ने बताए। ‘पछिल्लो १०/१२ वर्षमा भारतले विकास र समृद्धिको जुन फड्को मार्यो, हामी छेउमै बसेर हेरि मात्र रह्यौं,’ उनले भने। ‘अब सँगसँगै यात्रा गर्ने समय आएको छ। साना समस्या संवाद र सहकार्यबाट समाधान गर्दै समृद्धिको बाटोमा अघि बढ्नुपर्छ।’
वर्तमान सरकारबारे बोल्दै उनले जनताले आफ्नो नेतृत्वलाई बलियो जनादेश दिएको बताए। ‘कहिलेकाहीँ सरकारले केही गर्दैन कि, वातावरण बिग्रिन्छ कि भन्ने हल्ला यहाँसम्म आइपुग्न सक्छ,’ उनले भने। ‘तर त्यस्ता हल्लाको पछि लाग्न आवश्यक छैन। हामी पूर्ण प्रतिबद्धताका साथ देश विकासको अभियानमा लागेका छौं।’
उनले भागबण्डाका लागि राजनीति नगरेको, देश र जनताको भाग्य परिवर्तन गर्न आएको बताए। ‘यो यात्रा सजिलो छैन, तर असम्भव पनि छैन। हजारौं माइलको यात्रा तय गर्न पहिलो पाइला चाल्नैपर्छ। हामीले त्यही पहिलो पाइला चालेका छौं,’ उनले भने।
यसैबीच, रातोपाटीको रिपोर्टअनुसार, लामिछानेलाई भारतले उच्च महत्त्व दिएको विषय कूटनीतिक क्षेत्रमा अर्थपूर्ण मानिएको छ। भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणमा नयाँदिल्ली पुगेको लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्यो। गृहमन्त्री अमित शाह र विदेशमन्त्री डा. एस. जयशंकरसँग पनि उच्चस्तरीय भेटवार्ता भएको थियो।
विश्लेषक डम्बर खतिवडाले प्रधानमन्त्री बालेन्द्र शाह कूटनीतिमा योग्य नभएकाले पार्टीले सभापतिलाई अगाडि सारेको हुनसक्ने बताए। उनले बालेनलाई साइजमा ल्याउन भारतले ‘समानान्तर कूटनीति’ अनुसार रविलाई महत्त्व दिएको हुनसक्ने विश्लेषण गरे। यद्यपि, पूर्वराजदूत निलाम्बर आचार्यले रविलाई भारत सरकारले दिएको सम्मान नेपाली जनता र नेपालप्रतिकै भएको बताए। यसलाई सामान्य रूपमा लिनुपर्ने उनको तर्क छ।
यसैबीच, रास्वपाको आगामी असार ७–९ गते चितवनमा हुने महाधिवेशनमा रवि लामिछाने निर्विकल्प सभापतिका रूपमा सर्वसम्मत चयन हुने महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताएका छन्।
