सम्पत्ति छानबिनपछि पुनः गृहमन्त्री बन्ने सुधन गुरुङको दाबी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं पूर्वगृहमन्त्री सुधन गुरुङले सम्पत्तिबारे उठेका प्रश्नहरूको छानबिन प्रक्रियालाई सहजीकरण गर्न मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। उनी आफू निर्दोष साबित हुने र पुनः गृहमन्त्रालयको जिम्मेवारी पाउनेमा आशावादी रहेको संकेत दिएका छन्।
रास्वपा गोरखाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले सार्वजनिक पदमा रहँदा उठेका सवालहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार रहेको बताए। उनले छानबिन समितिसमक्ष बयान दिने क्रममा केही कडा प्रश्नहरूको सामना गर्नुपरेको र त्यसको सहज तथा स्पष्ट जवाफ दिएको उल्लेख गरे।
बयानका क्रममा एक रोचक प्रसंग सुनाउँदै गुरुङले छानबिन समितिलाई प्रतिप्रश्न गरे, “समितिले मलाई ‘यतिको सम्पत्ति कहाँबाट ल्याउनुभयो?’ भनेर प्रश्न गर्यो। मैले पनि सहज रूपमा छानबिन समितिलाई नै ‘तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त’ भनेर प्रतिप्रश्न गरिदिएँ।”
गुरुङको सचिवालयका अनुसार, छानबिन समितिको प्रतिवेदन हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ। उनी आफू पूर्ण सफाइ पाउनेमा आशावादी छन्।
उनले यदि आफू सफाइ पाएर पुनः गृहमन्त्री बनेको खण्डमा सुरुवाती दुई महिना बधाई दिन वा तस्बिर खिच्न मन्त्रालय नआउन आग्रह गरे। “यदि, समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरुका दुई महिना कोही पनि नआइदिनुहोला,” उनले भने।
गुरुङले रास्वपाको संगठन निर्माण र आउँदो नेतृत्वको कार्यशैलीबारे पनि आफ्ना धारणा राखे। अब बन्ने जिल्ला सभापति राजधानीकेन्द्रित नभई जिल्लामै बसेर पार्टीका गतिविधिहरू अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।
उनले आफू गृहमन्त्री हुँदा आमजनताबाट अभूतपूर्व साथ र सहयोग पाएको स्मरण गरे। निर्वाचनमा विजयी गराउने गोरखाका मतदाताहरूलाई उनले विशेष धन्यवाद ज्ञापन गरे।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छानबिन समितिको प्रतिवेदनमाथि अबको निर्णय प्रधानमन्त्रीले गर्नेछन्। गुरुङको आशावादी भनाइले उनको पुनः गृहमन्त्री बन्ने सम्भावनालाई संकेत गर्छ।
