नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार अपराह्न आएको वर्षासहितको हुरीले १७ वटा घर र दुई वटा गोठमा क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हुरीले विभिन्न घरका टिनका छाना उडाएको छ । केही घरमा रुखका हाँगा खस्दा क्षति भयो । केही कच्ची घरको पर्खाल चर्कियो । एक घरको ब्लकको पर्खाल भत्कियो ।
प्रहरीका अनुसार भोजबहादुर खनगाहा, मोतिराम खाती, धनिसरा सोमै मगर, पार्वती विक, रुपा विक, शेरबहादुर दराई, दीपेन्द्र ढेङ्गा, कान्छा कुमाल, गुनबहादुर दराई, नरबहादुर विक, ओमबहादुर कुमाललगायतका घरमा क्षति पुगेको छ । मनबहादुर राना र केमबहादुर विकका गोठमा पनि हुरीले क्षति पुर्याएको छ ।
कमला कुमालको कच्ची घरको पर्खाल चर्किएको छ । पार्वती विकको घरको एक कोठाको ब्लकको पर्खाल खसेको छ । केही घरमा रूखका हाँगा खस्दा सामान्य क्षति भएको प्रहरी उपरीक्षक खड्काले बताए । हुरीबाट मानवीय तथा पशु चौपायामा कुनै क्षति भएको छैन । कुनै परिवार विस्थापित नभएको प्रहरीले जनाएको छ ।
