मन्त्री पुनको पहिलो निर्णय: विज्ञान प्रविधि ऐन ल्याउन विधेयक बनाइने
नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयलाई कानुनी र प्रशासनिक रूपमा बलियो बनाउन छुट्टै विधेयक ल्याउने निर्णय गरेका छन्। मंगलबार पदभार सम्हालेलगत्तै पुनले विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐनका लागि विधेयक तर्जुमा गर्ने निर्णयमा हस्ताक्षर गरे।
मन्त्री पुनले लामो समयदेखि नेपालमा विज्ञान र प्रविधिको विकासका लागि शक्तिशाली मन्त्रालयको आवश्यकतामा जोड दिँदै आएका थिए। सरकारले गत ३० वैशाखमा यस मन्त्रालयको स्थापना गरेको थियो।
शून्यबाट सुरु हुँदैछ मन्त्रालय: पुन
मन्त्री पुनले बिहीबार सामाजिक सञ्जालमार्फत पहिलो दिनका निर्णय सार्वजनिक गरे। ‘विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुँदै छ। यो मन्त्रालय चलाउन अरू मन्त्रालयजस्तो तयारी छैन,’ उनले लेखे।
उनले मन्त्रालय सुचारु रूपमा चलाउन आवश्यक कर्मचारी दरबन्दी र कार्यप्रणालीबारे सर्वेक्षण (ओ एन्ड एम) गर्ने निर्णय भएको जानकारी दिए।
त्यस्तै, विभिन्न मन्त्रालयमा छरिएका अनुसन्धान र नवप्रवर्तनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल तुरुन्तै सुरु गरिने उनले बताए।
मन्त्री पुनको नियुक्ति र कार्ययोजना
स्वतन्त्र सांसदका रूपमा निर्वाचित पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारमा गत मंगलबार मन्त्री बनाइएको थियो।
मन्त्री पुनले आगामी एक महिनाभित्र मन्त्रालयको कार्यसम्पादनका लागि आवश्यक कर्मचारी व्यवस्थापन र प्रशासनिक प्रक्रियालाई तीव्रता दिने गरी ओ एन्ड एम सर्वेक्षण सम्पन्न गर्ने लक्ष्य राखेका छन्।
